खानेपानी अभावमा गाउँ छाड्नेले बस्ती रित्तिदै, रहरलाग्दा घरहरू खण्डहरमा परिणत

तेह्रथुम : खानेपानी समस्याले सधैंजसो दुःख झेलिरहनुपर्ने तेह्रथुमको छथर गाउँपालिकाको ग्रामीण भेगको बस्ती बसाइँ–सराइले रित्तिँदै गएको छ । खानेपानीको दुःख खेप्न नसकेपछि गाउँपालिका–५ ओख्रे बाँसपानीका हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुण्य न्यौपानेको परिवार गाउँ छाडेर गएको स्थानीय रत्नदेवी आधारभूत विद्यालयका प्रध्यानाध्यापक केदार बस्नेतले बताउनुभयो । उहाँका अनुसार २० बढी घरपरिवार पुर्ख्यौली बास छोडेर पूर्वी तराईतर्फ बसाई गएका हुन् ।

गाउँमा भएका पानीका मुहान, पोखरी, खोलानाला तथा चिस्यान र सिमसार क्षेत्र सुकेर पिउने पानीको समेत अभाव भएपछि धेरै छिमेकीले गाउँ छाडेको स्थानीय बासिन्दा बताउँछन् । एक दशक अघिसम्म ८३ घर रहेको यो गाउँमा अहिले घटेर चालीस हाराहारी घरहरु मात्र रहेको प्रध्यानाध्यापक बस्नेतले बताउनुभयो । उहाँका अनुसार थप परिवार समेत गाउँ छाडेर जाने तयारीमा छन् ।

धेरै रकम खर्च गरेर बनाएका घरहरु ढल्ने अवस्थामा छन् । कुनै घरका छाना पूरै भत्किएका छन् । कुनैका भत्किने क्रममा छन् । घरवरिपरि झाडीले ढाकिएको छ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुर्ख्यौली सम्पत्तिका रूपमा रहेका यी रहरलाग्दा घरहरू खण्डहरमा परिणत भएको स्था हमरजुङका भीमबहादुर थापाले बताउनुभयो ।

वैदेशिक रोजगारमा गएर केही पैसाको जोहो हुनासाथ गाउँ छाडेर सुविधायुक्त ठाउँतर्फ जाने लहरको असर गाउँघरको विकास निर्माण र सामाजिक कार्यमा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बसोबास गरिरहेका अधिकांश परिवार छिमेकीविहीन भएका छन् ।

बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका छथरबाहेकका थुप्रै गाउँ छन् । उनीहरू पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पुगेका छन् । बस्तीसम्म नै मोटर पुगेर सामान बोक्न नपरेपछि सर्ने दर झन् देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाको बुझाइ छ ।

आर्थिक रूपमा सम्पन्न थप सुविधाको खोजीमा अन्यत्र गइरहेका छन् । दुई छाक टार्न पनि मुस्किल हुने भएकाले विपन्न उसै पनि पलायन हुँदै छन् । सम्पन्न प्रायः पूर्वी तराईका सहर बजारमा र विपन्न गाउँमा सरिरहेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूको भनाइ छ ।

यो पलायनलाई रोक्न गाउँपालिकाले अन्यत्रबाट बस्न आउने परिवारलाई ५ लाख रुपैयाँ नगद दिने कार्यक्रम ल्याएको छ । केही परिवार बसाइँ सरेर आए । तर अन्यत्र सर्ने क्रम रोकिएको छैन । ‘यसले गाउँपालिकाको जनसंख्या घट्न थालेपछि पैसा दिएर भए पनि गएकाहरूलाई फर्काउने अभियान शुरु गरेका हौं’ गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले भन्नुभयो । आउनेहरूलाई गाउँपालिकाले व्यावसायिक प्रस्तावनाका आधारमा ५ लाख रुपैयाँ अनुदान दिंदै आएको छ ।

आधुनिक खेती प्रणाली अपनाउन नसक्नु तथा सिंचाइ र मलबीउ अभावमा खेतबारीको उब्जनीले परिवार पाल्न मुस्किल भएपछि तराईतिर झर्नेको लर्को लागेको छ । बसाइँ सर्ने दर बढ्दै जाँदा तेह्रथुमका थुप्रै गाउँहरू खाली हुने अवस्थामा पुगेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार