भक्तपुरमा कौसी खेती प्रबर्द्वन मेला हुने

काठमाडौ : कौसी खेती सम्बन्धी प्रविधिको प्रबर्द्वन गर्ने उद्देश्यले भक्तपुरमा कौसी खेती प्रबर्द्वन मेला हुने भएको छ । युएन, ह्याबिट्याटको आर्थिक सहयोगमा मध्यपुर थिमि नगरपालिका तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यही सोमबार ३० गते कौसी खेती प्रबर्द्वन मेला आयोजना गर्न लागेको हो ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका दुई पोखरीमा हुने कौसी खेती मेलामा कौसी खेती प्रविधि, फोहोरमैला एवं फोहोरपानीको व्यवस्थापन तथा हाईड्रोपोनिक खेती प्रणाली सम्बन्धी प्रदर्शनी हुने वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की सिनियर वास अफिसर सिर्जना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार मेलामा कौसी खेती सम्बन्धी तालिम पुस्तिकाको विमोचन, कौसी खेतीसँग सम्बन्धित ब्रोसर, फ्लेक्स, सूचना, शिक्षा तथा सञ्चार सामग्री र फोटो प्रदर्शनी एवं वृत्तचित्र प्रदर्शनी गरिनेछ ।

युएन, ह्याबिट्याटको आर्थिक सहयोगमा मध्यपुर थिमि नगरपालिका तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा Green Roooftop Farming-Water for Life  Project सञ्चालन गरिरहेको छ ।

शहरी समुदायले विगतदेखि नै कौसी खेती गर्दै आए पनि कौसी खेतीलाई अझ प्रभावकारी बनाउन प्राविधिक ज्ञान प्रदान गर्ने हेतुले परियोजना सञ्चालन भईरहेको सिनियर वास अफिसर शाक्यले बताउनुभयो । कौसी खेतीको माध्यमबाट खाद्य सुरक्षा, फोहोरमैला व्यवस्थापन तथा पानी संरक्षण गरी शहरी कृषिका नवीन तरिकाहरूलाई प्रबर्द्वन गर्ने उद्देश्यले सञ्चालित उक्त परियोजना मार्फत मध्यपुरथिमीका १०० भन्दा बढी घरधुरीले कौसी खेती गर्दै आएका छन् ।

यो बर्ष मात्र ५ सय जना महिलालाई तालिम दिने नगरपालिकाको योजना रहेको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनुभयो । मध्यपुर थिमी नगरपालिकाले कौसी खेतीलाई वैकल्पिक खेतीको रुपमा विकास गर्ने र आगामी १० बर्षभित्र असी प्रतिशत घरमा कौसी खेती प्रबर्द्वन गर्ने लक्ष्य लिएको छ । कौसी खेतीबाट घरमै उत्पादित फोहोरको व्यवस्थापन हुने, आयआर्जनमा टेवा पुग्ने, उद्यमशीलतको विकास हुने, खाद्य सुरक्षामा टेवा पुग्ने, शारीरिक तन्दुरुस्ती हुने लगायत बहुआयामिक नतिजा देखिन थालेका छन् ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार