खानेपानीको आपूर्ति घटेपछि कुश्मा बजारमा डिप बोरिङ

पर्वत : हिउँदको समयमा हुने खानेपानीको अभाव हटाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरिने भएको छ। गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको र त्यसको समाधान गर्न बोरिङ गरी खानेपानी आपूर्ति गर्न लागिएको खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसका लागि कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै बोरिङको लागि परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ। अब एक साताभित्र पानी आपूर्ति गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको छ। पानी निकाल्न करिब ३० लाख खर्चको अनुमान गरिएको छ।

गर्मीयाम नै पानीको माग बढी हुने भए पनि सुख्खापनका कारण यही बेलामा पानीका स्रोतमा मात्रा घट्ने गरेको छ। कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ। गर्मीयाममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ। खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पातीखोला, कुश्मा नगरपालिकाको केवादीखोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारका लागि पानीको आपूर्ति हुने गरेको छ।

गत भदौमा वर्षासँगै आएको पहिराका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ। त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो। मोदी गाउँपालिकाको पातीखोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ। पानीको मुख्य स्रोतका रूपमा रहेको खुर्कोटको केवादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मीयाममा प्रतिसेकेन्ड छ लिटरमा झर्ने गरेको छ।

मुख्य स्रोतबाट नै प्रतिसेकेन्ड १६ लिटर कम पानी आउँदा बजारमा अभाव हुने गरेको छ। बोरिङ गरेर पानी निकालिए पनि मागअनुसार पर्याप्त भने हुने छैन। सामान्य अवस्थामा प्रतिसेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मीयाममा प्रतिसेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ। कुश्माबजारमा झण्डै दुई हजार धारा वितरण गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार