सौर्य उर्जाबाट खानेपानी लिफ्टिङ गरी १३७ घरमा वितरण

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका– २ मा सौर्य उर्जा मार्फत विद्युत उत्पादन गरी खानेपानी लिफ्टिङ गरी वितरण गरिएको छ । झ्यालगैह्राको पानीलाई पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले ३५० मिटर भर्टिकल उचाइमा लिफ्ट गरिएको हो । साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको पानीलाई ऋषिथुम डाँडामा निर्माण गरिएको ४० हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरी वितरणको व्यवस्था मिलाइएको हो।

आयोजनाबाट १६७ मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका उक्त आयोजनाका सचिव ईश्वरराज काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय चालिस वटा धारा निर्माण गरी पानी वितरण गरिएको छ ।” झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको हो।

सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो । पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताउनुभयो ।

सङ्घीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो ।

उक्त खानेपानी आयोजनाको गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले हालै उद्घाटन गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार