मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

काठमाडौ : बाढी पहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमा पूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिनुभयो । न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवर्क्स र अम्बाथान तर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाको प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ बालुवा, ढुङ्गा सहितको लेदोले पुरेको थियो ।

बाढीले खानेपानी आयोजनाको मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भाग समेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ । बाढीले क्षतिग्रस्त बनेका सुरुङ भित्रका ढोकाको मर्मत निर्माता भारतीय कम्पनी ‘पिरिसिजन इन्डिया लिमिटेड’ (पीआईएल) का प्राविधिक मार्फत भइरहेको समितिका सिनियर डिभिज्नल  इन्जिनियर पदम कुँवरले जानकारी दिनुभयो ।

नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजल मार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । खानेपानीमन्त्री चौधरीले आयोजनाको काम समय अगावै सक्ने गरी कार्य योजना नै बनाएर काम गर्न निर्देशन दिनुभएको थियो ।

आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समय भित्र पूरा गर्न अन्य तीन वटा नेपाली सहायक कम्पनी मार्फत २४ घण्टा नै काम भईरहेको छ । सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङ ‘समीर’ले निर्धारित समय भन्दा पहिले नै सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट साभार गरिएको ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार