
दैलेख : खानेपानीको पाइप पुर्ने क्रममा लडेर ज्यान गुमाएका दैलेखको महाबु गाउँपालिका–६ उत्तेसैनीका सुर्य बहादुर शाहीको परिवारलाई किरिया खर्च प्रदान गरिएको छ । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले शाहीको परिवारलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
सोमवार हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका क्षमता विकास विज्ञ नीलकण्ठ पाण्डे र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा सहितको टोलीले मृतक शाहीको घरमै पुगेर किरिया खर्च हस्तान्तरण गर्नुभएको हो । उक्त रकम मृतक शाहीका छोरा त्रिभुवन शाहीलाई हस्तान्तरण गरिएको हो ।
महाबु गाउँपालिका, हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम र सोसेक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन चिप्लेटी वल्लो उत्तेसैनी खानेपानी तथा सरसफाइ योजनाको पाइपलाइन पुर्ने क्रममा चैत्र १३ गते उहाँको ज्यान गएको थियो ।
खानेपानी योजनाको उपभोक्ता समेत रहेका मृतक शाही सडक छेउको भिरालो स्थानमा खानेपानी योजनाको काम गर्दै हुनुहुन्थ्यो । सोही क्रममा लडेर उहाँको ज्यान गएको थियो ।


1220 पटक हेरिएको 

