ट्याङ्की बनेको १२ बर्षमा पनि पुगेन, उपभोक्ताको घरमा खानेपानी

फाइल फोटो

नवलपरासी : एउटा नेपाली उखान छ ‘बाह्र बर्षमा खोलो पनि फर्किन्छ ।’ तर पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थित बैरिहवामा भने खोलो फर्किने कथा त कहाँ हो कहाँ, खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको बाह्र वर्ष पुग्दा पनि उपभोक्ताको घरमा खानेपानी समेत पुगेको छैन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीले रामग्राम नगरपालिका ४ बैरिहवामा खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएपनि पानी घरमा लग्न नसकेको रामग्राम खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष रामकुण्डल यादवले बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीले २० लाख रुपियाँको लागतमा निर्माण गरेको पानी संकलन ट्याङ्की अहिले पनि रित्तै रहेको बैरीहवाका स्थानियवासी रामधुनिय कोईरीले बताउनुभयो । पाइप किन्न पर्याप्त रकम विनियोजन नभएको र डिभिजन कार्यालयले समेत पुराना योजना भएपछि चासो नदिएका कारण खानेपानीको ट्याङ्की निर्माण भएपनि अरु काम हुन नसकेको उपभोक्ता बताउँछन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानीका लागि ट्याङ्की निर्माण, कम्पाउन्डवाल निर्माण गरेपनि ती बर्षौ पुराना भएका कारण झारपातले ढाकिसकेको स्थानीय उपभोक्ता बताउँछन् । रामग्राम नगरपालिका ४ बैरिहवाको खानेपानी जस्तै जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुरमा रहेको बेलासपुर खानेपानी, रामग्राम नगरपालिका १५ मा रहेको सुक्रौली खानेपानी आयोजना पनि अलपत्र अवस्थामा छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार