
काठमाडौ : मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने हुनुभएको छ ।
निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ मा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।
मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलि मंगलबारदेखि पानी पठाउन सुरु गरिने कार्यक्रम छ । खानेपानीमन्त्री उमाकान्त चौधरीका स्वकीय सचिव शशी लम्सालले भोलि नै मेलम्ची खानेपानी पथान्तरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुर्याए पछि मेलम्ची खानेपानी अवरुद्ध भएको थियो । लामो समयदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी बाढीका कारण आयोजना नै क्षतिग्रस्त बनेपछि निरास बनेका थिए । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिए पछि भोलि (मंगलबार) देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजल स्थित प्रशोधन केन्द्रमा पठाउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समय सीमाभित्र पानी काठमाडौँ ल्याउन काम भए नभएबारे पटक–पटक स्थलगत निरीक्षण गर्दै आउनुभएको थियो ।
२०७७ साल फागुन २२ गते सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर बाग्मती नदीमा खसाल्दै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गर्नुभएको थियो ।


2977 पटक हेरिएको 

