मेलम्ची खानेपानी उदघाटन गर्दै खानेपानीमन्त्रीले भने ‘यो सरकारले मेलम्चीको पानी ल्याउन सक्दैन भन्नेहरुलाई ल्याएर जवाफ दिएँ’

काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची  सुरुङको १ नम्बर गेटबाट पानी पठाएर मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । उहाँले १ नम्बर गेटबाट पठाएको पानीलाई ३८ नम्बर गेट खोलेर पुनःनिर्माण पछिको मेलम्ची खानेपानीको उदघाटन गर्नुभयो । प्रधानमन्त्री शेर बहादुर देउवाले मेलम्ची खानेपानीको उदघाटन गर्ने कार्यक्रम रहे पनि निर्वाचन आचार संहिताका कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । मेलम्चीको पानी सुरुङमा पठाएपछि उहाँले स्व. कृष्णप्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा सम्पन्न गर्न पाएकोमा गौरव लागेको बताउनुभयो ।

‘केही व्यक्तिहरुले वैशाखमा यो सरकारले मेलम्चीको पानी उपत्यकामा ल्याउन सक्दैन भनेर प्रचार गरेको बताउँदै मन्त्री चौधरीले समयमै आयोजना पुनः सञ्चालन गरेर यसको जवाफ दिएको बताउनुभयो । मन्त्री चौँधरीले भन्नुभयो ‘स्व. कृष्ण प्रसाद भट्टराईले देखेको सपना आफ्नो कार्यकालमा पुरा गर्न पाएकोमा गौरव लागेको छ ।’

बाढीबाट क्षतिग्रस्त समुदायको पुनःस्थापनाका लागि सरकारले योजना बनाएको पनि मन्त्री चौधरीले बताउनुभयो । उहाँले दिनरात नभनी खटिएका मेलम्ची खानेपानी आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कामदार एवं सम्बद्ध सबैलाई बधाई एवं धन्यबाद व्यक्त गर्नुभयो । उहाँहरुकै अथक मिहेनतका कारण सरकारले भनेकै समयमा खानेपानी आयोजना सम्पन्न गर्न पाएको र काठमाडौ उपत्यकाबासीलाई तोकिएकै समयमा खानेपानी वितरण गर्न सम्भव भएको मन्त्री चौधरीले बताउनुभयो । उहाँले बाँकी काम पनि चाँडै सम्पन्न गरिने समेत बताउनुभयो ।

सुरुङमा पठाएको पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधित गरेपछि वैशाखको पहिलो साताबाट उपत्यकामा वितरण गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ । समितिका सिनियर डिभिज्नल इन्जिनियर पदमहादुर कुँवरले सुरुङ र हेडबर्क्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाएको जानकारी दिनुभयो । उहाँले वैशाख पहिलो साताबाट काठमाडौ उपत्यकाको घरघरमा पानी वितरण हुने जानकारी दिनुभयो ।

गत असार १ गते सुरुङ बन्द गरेकै दिन मेलम्चीमा आएको बाढी पहिरो र पुनः साउन १७ गतेको लेदो सहितको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार