
खोटाङ: निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरेपछि खोटाङको हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी आयोजनाको म्याद नथप्ने निर्णय गरिएको छ। हलेसी क्षेत्र बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैठकले २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पनि पुरा नभए पछि म्याद नथप्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्न सुरु गरिएको आयोजनाको दोस्रो पल्ट थप भएको म्याद बुधबार सकिएको छ। निर्माण कम्पनी दिवा–महादेव खिम्तीले पुनः म्याद थपका लागि प्रकृयाअघि बढाएको अवस्थामा उपभोक्ता समितिले म्याद नथप्न सिफारिस गर्ने निर्णय गरेको हो।
उपभोक्ता समितिले समयमै काम सम्पन्न नभै पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न हुन नसकेको हुँदा पुनः म्याद थपका लागि पहल भइरहेको बुझिएकाले अब उपरान्त म्याद थप गर्न सहमति नदिनुका साथै सम्झौताअनुसार कारवाही प्रकृया अघि बढाउन विभागलाई अनुरोध गर्ने’निर्णय गरेको छ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्काको काम दिवा–महादेव खिम्तीले गरिरहेको छ।
यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले तथा भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको हो।
मेनलाईनको म्याद नाघेको ३३ महिना र वितरणलाईनतर्फको म्याद नाघेको २१ महिना बित्दा ७५ प्रतिशत काम सम्पन्न भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङले जनाएको छ।
२०७६ साल पुस १७ गतेसम्ममा भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल २१ असार बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो। कोभिड–१९ को कारण देखाउँदै दिवा९महादेव खिम्तीले दुई पल्ट थप म्याद पाएको कार्यालयले जनाएको छ।
यस्तै, ३० असार २०७७ सम्ममा सक्ने सर्तमा ३१ असरा २०७५ मा वितरण लाइनतर्फको कामको सम्झौता गरिएको थियो। रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरणलाइनको ठेक्का लिएको हो। दुईपल्ट थप भएको दुबै वितरण लाइनतर्फको म्याद पनि बुधबार नै सकिएको छ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिका–७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढीको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो।
दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्य राखिएको छ। नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय आयोजनाको काममा ढिलासुस्ती हुँदा स्थानीय आजित बनेको उपभोक्ता समितिले जनाएको छ।


936 पटक हेरिएको 

