कुहिने र नकुहिने फोहोर स्रोतमै नछुटाए फोहोर नउठाईने

हरेक पटक ५ सय जरिवाना पनि हुने

काठमाडौ : फोहोरलाई स्रोतमै बर्गीकरण गरेर नराखे काठमाडौं महानगरपालिकाले त्यस्तो फोहोर नउठाईने र फोहोर एकै ठाउँमा थुपारे पटकै पिच्छे ५ सय जरिवाना गर्ने भएको छ ।

महानगरपालिकाले स्रोतमा नै फोहोरको बर्गीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने वातावरण तथा कृषि विभागले जनाएको छ ।

फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताकै हुने भएकाले फोहोर पृथकीकरण गरी कुहिने (जैविक) फोहोर संकलन गर्न आउने दिन जैविक फोहोरमात्र संकलन गर्ने र नकुहिने (अजैविक) फोहोर संकलन गर्न आउने दिन अजैविक फोहोर मात्रै संकलन गर्ने महानगरपालिकाले जनाएको छ ।

काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवसपन ऐन, २०६८ को दफा (१), (२) को व्यवस्था गरे बमोजिम २०७९ साल वैशाख १ गतेदेखि स्रोतमा नै फोहोर छुट्याउन महानगरले अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि काठमाडौ महानगरपालिकाले यो व्यवस्था लागु गर्न लागेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार