
काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकामा २०७९ वैशाख ११ गतेभित्र वितरण सुरु गर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री चौधरीले काठमाडौं उपत्यकाका बासिन्दालाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन २०७८ चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरि सकिएको जानकारी गराउनुभयो ।
मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ साल चैत १५ बाट क्रमिक रूपमा पुरानो र नयाँ दुवै प्रणालीबाट वितरण कार्य सुरु गरिएकोमा २०७८ असार १ र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगेपछि आयोजना अवरुद्ध भएको जानकारी गराउनुभयो । मेलम्ची खानेपानीको विकल्पको रूपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउनुहुँदै उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको विकल्पहरूबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुनसक्ने तर्फ इंगित गर्नुहुँदै उहाँले सरोकारवालाहरू सबै मिलेर खानेपानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई केयुकेएल र पीआईडीले मनन गर्नुपर्ने समेत बताउनुभयो । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका व्यवस्थापन बोर्डमा रहेर कार्य गर्दाको अनुभव सुनाउनु हुँदै बोर्डले मेलम्चीको पानीको विकल्पको रूप सिस्नेरी आयोजनालाई अगाडि ल्याएको बताउनुभयो । पीआईडी र केयुकेएलको काममा स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने बताउनु हुँदै वैकल्पिक स्रोतहरूको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्ने तर्फ खानेपानी मन्त्रालय अग्रसर रहेको बताउनुभयो ।
त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाडौं उपत्यका खानेपानी लिमिटेड मार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाइ व्यवस्थापन एवम् सुधार लगायतका कार्यहरूमा सहकार्य गर्दै आइरहेको बताउनुभयो।
उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउनुहुँदै उहाँले बोर्डले वर्षातको पानी संकलन गरी पुनःभरण गर्ने काम गर्दै आएको समेत बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मिना श्रेष्ठ, केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिया ।


733 पटक हेरिएको 

