
तेह्रथुम : तेह्रथुमको सुख्खाग्रस्त क्षेत्र छथर गाउँपालिकाको ३ नम्बर वडाले एक घर एक हिल ट्याङ्की र घरघरै फिल्टर कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँमा पानीको जोहो गर्न भण्डारण गर्ने ठूलो भाँडाको अभावमा नागरिकले दुःख पाउन थालेपछि वडा कार्यालयले एक घर एक ट्याङ्की र फिल्टरको व्यवस्था गरेको हो । सबै नागरिकले पानी जम्मा गरेर राख्नका लागि ड्र्म किन्न नसक्ने र साना तिनो भाँडामा जम्मा गरिराखेको पानीले एक दिन पनि नपुग्ने भएपछि नागरिकलाई घरघरै हिल टेक वितरण गरिएको वडा अध्यक्ष तुसलीजंग थापाले बताउनुभयो ।
थोरै लगानी भए पनि नागरिकको समस्यासँग प्रत्यक्ष जोडिएको कार्यक्रम भएकाले यो निक्कै प्रभावकारी भएको छथर गाउँपालिका ३ का विक्रम लिम्बुले बताउनुभयो । घर घरमा खानेपानी पुगे पनि पानीको जोहो गर्ने सामाग्री नहुँदा पानी बिग्रिदाँ समस्या भोग्दै आएका नागरिकहरु वडाले ल्याएको कार्यक्रमले राहत पुगेको बताउँछन् । पानीको जोहो गर्ने भाँडा नहुँदा समस्या हुँदै आएको स्थानीय खलस्त बहादुर श्रेष्ठले बताउनुभयो । “हामीले ग्रागी,पेप्सी र बाल्टीहरुमा पानी थाप्थ्यौ दिनभरि पानी मुस्किलले पुग्थ्यो । कुनैबेला पानी बिग्रिँदा खानेपानी कै समस्या हुन्थ्यो तर,अब वडाले हामीलाई पानी राख्ने हिल ट्याङकी दिएपछी ढुक्क भएका छौं ।” उहाँले भन्नुभयो ।
खलस्तबहादुर जस्तै भित्रीमाया श्रेष्ठलाई पानी जोहो गर्नलाई ढुक्क भएको छ । स्थानीय निर्वाचनबाट जनप्रतिनिधि भएर आएसँगै वडाको सुख्खाग्रस्त स्थानका नागरिकहरुको समस्यालाई मध्यनजर गरी एक घर एक हिल ट्याङकी कार्यक्रम अगाडि सारेको वडाध्यक्ष तुसलीजंग थापाले बताउनुभयो।
निर्वाचित भएको पहिलो वर्ष वडाबाटै १० लाख रुपैयाँ विनियोजन गरि कार्यक्रम सञ्चालन गर्दै आएको थापाको भनाइ छ । जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिले नै तेलिया खानेपानी आयोजना सुरु गर्दै आएको र निर्वाचित भएपछि खानेपानी व्यवस्थापनमा जुट्दै आएको वडा सदस्य फौदराज लिम्बूले बताउनुभयो।
“हामीले खानेपानी आयोजना त सुरु गर्यौ तर एक दिन पानी बिग्रियो भने नागरिकहरुलाई समस्या हुने भएकाले वडामा रहेका सबै नागरिकहरुको घर घरमा हिल ट्याङकी व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रमलाई विगतका वर्षहरुबाटै सञ्चालन गर्दै आएका छौँ । सबै नागरिकहरुले स्वास्च्छ खानेपानी पिउनुपर्छ भन्ने लक्ष्यका साथ वडाका सबै घरलाई फिल्टर पनि वितरण गर्दै आएका छौँ ।” उहाँले भन्नुभयो ।


843 पटक हेरिएको 

