
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँमा जथाभावी सडक खन्दा खानेपानी छताछुल्ल भएको छ । कनकासुन्दरीको गोठीजिउला बजारबाट कालाकाँध लेक हुँदै मुगु जिल्लाको खत्याड जोड्ने सडक खन्ने क्रममा डोजरले खानेपानीको पाइप फुटाएपछि खानेपानी सडकभरि छताछुल्ल बनेको हो । गोठीजिउला बजार – कालाकाँध सडक खण्डको ४ सय मिटर सडक दुई लेनको बनाईदैछ ।
सडक आसपासमा रहेका भिगाडे, रुप्सीकोट, बुढुकोट खानेपानी आयोजनाको पाइप डोजरले लथालिङ्ग बनाएको छस ठाउँठाउँमा पाइप फुटाएको छ । खानेपानीको मुहानमा समेत क्षति पुगेको छ । अहिले कोटघर स्वास्थ्य चौकी, पाण्डगुफा माध्यमिक विद्यालय कोटघर, वडा नम्बर ८ को वडा कार्यालय र भट्टभण्डारी गाउँका १३० घरधुरी खानेपानी समस्यामा छन् । खानेपानी सडक खन्ने क्रममा बिग्रिएपछि एक महिनादेखि स्वास्थ्यचौकीमा खानेपानीको समस्या भोगिरहेको पाण्डवगुफा स्वास्थ्य चौकीका इन्चार्ज जयलाल उपाध्यायले जानकारी दिए ।
उनले स्वास्थ्य चौकीको सरसरसफाइ गर्न कठिन परेको र हिमा नदिबाट पानी बोकेर काम चलाउनु परेको दुखेसो पोखे । पिउने पानी नजिकैको सन्झ्यालबाट गाउँदेखि ल्याउने गरिएको छ ।
पाण्डवगुफा माध्यमिक विद्यालय कोटघरमा पनि खानेपानीको समस्या छ । विद्यार्थी र शिक्षक घरबाटै पानी बोकेर पिउँछन् । प्रधानाध्यापक दिपेन्द्र रोकायाले सडक खन्दा होसियारी अपनाउन नसकिएकाले खानेपानीको चरम समस्या खेप्नु परिरहेको बताए ।
चर्को गर्मीमा पानीको तिर्खा निकै लाग्ने गर्छ । घरबाट ल्याएको पानी दिउँसो तातिएर पिउन नमिल्ने भइहाल्छ । प्रधानाध्यापक रोकायाले भने, ‘हिमा नदीको दूषित पानी बोकेर काम चलाइराखेका छौं ।’ साभार :डीबी बुढा/कान्तिपुर दैनिक


719 पटक हेरिएको 

