मेलम्चीको पानी आजदेखि उपत्यकाबासीको घरघरमा

काठमाडौं : मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकाबासीको घरघरमै वितरण हुँदैछ । सुरुङमार्गबाट काठमाडौको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा ल्याएको पानीलाई प्रशोधन गरी महांकालचौर वितरण केन्द्र मार्फत उपत्यकाका विभिन्न रिजर्भ्वायर ट्याङ्क हुँदै काठमाडौ उपत्यकाबासीको घरघरमा वितरण गर्न लागेको हो । यस सम्बन्धी विस्तृत जानकारी गराउन काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मीनभवन वितरण केन्द्रमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।


काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यले काठमाडौ उपत्यकाका १० वटा पानीपोखरीहरु बाट पानी वितरण हुने र ती पोखरीहरुको क्षमता तथा तिनले पुर्‍याएको उपभोक्ताको संख्या हेरी कतै दिनहुँ र कतै कतै एक दिन विराएर पानी वितरण गर्ने वितरण तालिका बनेको जानकारी दिनुभयो ।

उहाँले गत सालको अनुभवबाट पाठ सिकेर यसबर्ष खानेपानीको चुहावट नियन्त्रण, मर्मत सम्भार तथा पानी नपुगेको क्षेत्रमा पानी पुर्‍याउन हरेक पानी पोखरीमा र्‍यापिड रेस्पोन्स टिम र कोअर्डिनेसन कमिटी समेत निर्माण गरिएको बताउनुभयो ।

आधारभन्दा बढी स्थानमा पुरानो पाइपबाट


केयूकेएलले यस पटक पनि काठमाडौ उपत्यकाको आधाभन्दा बढी स्थानमा पुरानो पाइप मार्फत नै पानी वितरण गर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले विछ्याएका सबै पाइपलाइन परिक्षण भई नसकेकाले पुरानै पाईपबाट पानी वितरण गर्न लागेको हो । पिआईडीले एक हजार १० किमी लम्बाइको वितरण पाइप मध्ये आधाभन्दा कम मात्रै परीक्षण गरिएको जनाएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ ।

गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । ‘धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ, वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ ।’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँट लगायतका स्थानमा नयाँ पाइपबाट वितरण हुनेछ । असारदेखि यता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको उहाँले बताउनुभयो ।

विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही पानी परीक्षणका लागि छुट्याइने उहाँले बताउनुभयो । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उहाँले भन्नुभयो, “केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।” बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ । यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँ मार्फत वितरण हुनेछ ।

निर्देशनालयले पानी वितरणका लागि जम्मा १० वटा ट्याङ्की निर्माणको जिम्मेवारी लिएकोमा अहिलेसम्म नौ वटा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याएको हो । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा पानी ल्याउने योजना छ । पहिलो चरणमा दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार