सोलुको पानीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने


सोलुखुम्बु : सोलुखुम्बुको बेनी खोलाको पानीलाई शुद्ध पानीको रुपमा ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रबर्द्वन गर्ने भएको छ । प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी भई बग्ने बेनी खोलाको पवित्र पानीलाई प्रशोधन गरी हिमाली क्षेत्रको शुद्ध पानीको रुपमा ब्राण्डिङ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रोत्साहन गर्ने नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका कमिटी सोलुखुम्बुद्वारा जारी प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिबद्धता पत्रमा टोल टोलमा अग्नि नियन्त्रण सहितको शुद्ध खानेपानीको निमित्त व्यवस्थित योजना बनाउने र भएका पुराना खानेपानीका मुहानहरुको संरक्षण र सम्बर्द्वन गर्ने समेत उल्लेख छ ।

खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा एमालेको प्रतिबद्धता पत्रमा नगरभित्रका सबै जनताहरुको घर घरमा शुद्ध खानेपानी पुर्‍याउने । जसका लागि निर्माणाधीन छिनाक्पु – फाप्लु – सल्लेरी खानेपानी योजनालाई एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ ।

यस्तै आधुनिक प्रविधियुक्त फोहोर व्यवस्थापन केन्द्रको निर्माण गरी व्यवस्थापन गर्ने ।

एक बर्ष भित्र फाप्लु – सल्लेरी – दोर्पू ढल निर्माण कार्यलाई सम्पन्न गर्ने र नगर भित्रका सबै बजार क्षेत्रमा ढल निर्माण कार्यलाई महत्वका साथ हेरी निर्माण कार्य गर्ने ।

उत्पादित फोहोरमैलालाई व्यवस्थापन गर्न उपयुक्त स्थानमा फोहोर प्रशोधन केन्द्र निर्माण गरी फोहोरलाई मोहोरमा परिणत गर्न पहल गर्ने ।

महिलाहरुलाई पुनः प्रयोग हुने स्यानिटरी प्याड प्रयोगमा प्रोत्साहन गर्ने बालबालिकाको निमित्त प्रयोग हुने डाईपरको सट्टा कटन कपडा प्रयोगमा प्रोत्साहन गर्ने ।

प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी भई बग्ने बेनी खोलाको पवित्र पानीलाई प्रशोधन गरी हिमाली क्षेत्रको शुद्ध पानीको रुपमा ब्राण्डिङ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रोत्साहन गर्ने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा एमालेले आङ काजी शेर्पालाई मेयर र मोहनकुमारी कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार