
ललितपुर : ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा ढल निर्माण, खानेपानीको पाइपलाइन बिच्छ्याउने र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने काम सुरु गरिएको छ । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको काम सुरु गरिएको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबाट संयुक्त रुपमा खानेपानीको पाइप, ढल एवं तारलाई भूमिगत गर्ने काम एकैसाथ सञ्चालन भईरहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
विश्व सम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षातको पानी र ढलको उचित व्यवस्थापन नहुँदा देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको पहलमा आयोजना सुरु गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानीमा करिब ४८ करोडको लागतमा निर्माणाधीन एकीकृत भौतिक पूर्वाधार निर्माणको काम आगामी पुस सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ।


974 पटक हेरिएको 

