खानेपानीमन्त्रीद्वारा मेलम्चीको निरिक्षण, मौसम पूर्वानुमानको आधारमा जुनसुकै बेला गेट बन्द गरिने

🔗
839
Shares

फाइल तस्बिर

काठमाडौ : बर्षायाम सुरु हुनु अघि नै मेलम्चीको पानी बन्द गर्ने हल्ला चलिरहेका बेला खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्नुभएको छ । वर्षातको समय सुरु हुन लागेको गत साल जस्तै खानेपानीको संरचनामा क्षति सम्भावना र नियन्त्रणका उपायको खोजी गर्ने हेतुले विज्ञ, कर्मचारी सहित विहीबार खानेपानीमन्त्री निरीक्षणमा जानु भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका विज्ञ, कर्मचारीको सल्लाह अनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाइ गेट बन्द गरिने उहाँले बताउनुभयो । गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । उहाँले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकार सँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताउनुभयो ।

उहाँले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानी लगायत जायज माग पूरा गर्न आफू तयार रहेको बताउनुभयो । मेलम्चीको विकल्पमा वाग्मती नदीबाट दैनिक पाँच करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको, त्यस्तै पाँच करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने सरकारको योजना रहेको जानकारी गराउनुभयो । अस्थायी तरिकाले पथान्तरण गरिएको मेलम्चीको पानी गत वैशाख ११ गतेदेखि राजधानीका बासिन्दाले उपभोग गर्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार