
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमै उत्रिए पछि बिग्रिएको पम्प मर्मतको काम शुरु भएको छ । मेयर साम्पाङले चारकोशे जंगलस्थित पुरानो संरचनाको बिग्रेको ४ नम्बर पम्प मर्मत गर्न निर्देशन दिएपछि उक्त पम्प मर्मतको काम सुरु भएको हो ।
मंगलबार मात्र पदभार ग्रहण गर्नुभएका मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्डमा उत्रिनुभएको थियो । दुवै दिन उहाँले खानेपानी आपूर्तिलाई सहज बनाउन बिग्रेका पम्प बनाउन निर्देशन दिनु भएको थियो । उहाँले आफ्नो प्रमुख प्राथमिकता रहेको खानेपानी आपूर्ति सुधार गर्न तत्काल फिल्डमा पुग्नु भएको थियो । उहाँले बुधबार खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेर तत्काल मर्मत गर्न निर्देशन दिएका दिनु भएको थियो ।
दोस्रो दिन बिहिबार चारकोशे जंगलस्थित पानीको वेल तथा पम्पहरुको स्थलगत निरीक्षण गरेर बिग्रेको पम्प तत्काल मर्मत गरेर पुर्ण क्षमतामा चलाउन निर्देशन दिनु भएको थियो । खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक पोखरेलका अनुसार पुरानो संरचनाहरु भएको सबै ठाउँमा मेयरलाई स्थलगत निरीक्षण गराउनुभएको थियो ।
मेयर साम्पाङले धरान खानेपानी व्यवस्थापन बोर्ड तथा त्यस अन्तर्गतका कर्मचारीहरुलाई जनताको गुनासो आउन नदिने गरि काम गर्न निर्देशन दिनुभयो । बिहिबार बोर्डमा अध्यक्षको रुपमा उपस्थित भएका मेयर साम्पाङले आफुलाई धराने जनताले पानी खुवाउनकै लागि पठाएको धारणा राख्दै विगतमा जनताको आवाजको रुपमा दबाब दिएर हिडेको तर अहिले एकै टिममा भएकोले मिलेर काम गर्न पनि आग्रह गर्नुभयो ।
‘अहिले हामी एक टिममा छौ, अब हाम्रो टिमको उद्देश्य भनेको जनतालाई पानी खुवाउने हो । अरु काम नगरेर भएपनि पानी खुवाउनुपर्छ, वितरण प्रणालीमा पनि समस्या छ । कहा के के मर्मत सम्भार गर्नुपर्नेछ, गर्नुपर्छ । काम गर्नुपर्यो । जनतालाई गुनासो हुने ठाउँ दिनु भएन ।’ मेयर साम्पाङले भन्नुभयो ।


1745 पटक हेरिएको 

