सुरक्षित खानेपानी उपलब्ध गराउने राधाकृष्ण खानेपानीको योजनामा आर्सेनिक बाधक

🔗
76
Shares

ललितपुर : आफ्ना उपभोक्तालाई सुरक्षित खानेपानी मात्र उपलब्ध गराउने राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको योजनामा आर्सेनिक बाधक बनेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका ५ स्थित टिकाथलीमा सञ्चालित राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुरक्षित खानेपानी वितरणका विभिन्न प्रविधि अपनाउँदा समेत पानीमा भएको आर्सेनिकको मात्रा न्यूनीकरण गर्न नसक्दा सुरक्षित खानेपानी वितरण गर्न नसकेको हो ।

अध्यक्ष – सुमन कुमार केसी

भूमिगत पानीलाई प्रशोधन गर्न मासिक ५० हजार रुपैयाँ भन्दा बढी खर्च भईरहे पनि पिउन योग्य पानी वितरण गर्न नसकेको संस्थाका अध्यक्ष सुमन कुमार केसीले बताउनुभयो । ‘हाम्रो लक्ष्य भनेको उपभोक्तालाई पिउन योग्य खानेपानी वितरण गर्ने हो, तर निरन्तरको प्रयासको बाबजुद पनि त्यो सम्भव भईरहेको छैन’ अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार संस्थाले वितरण गर्ने पानी घरायसी प्रयोजनका लागि मात्र भनेर वितरण गरिररहेको छ ।

 

संस्थाले पिउन योग्य पानी वितरण गर्न नसक्दा उपभोक्तालाई दोहोरो आर्थिक भार परेको स्वयं अध्यक्ष केसी बताउनुहुन्छ । ‘हामीले पिउन योग्य पानी मात्र वितरण गर्न सकेको भए उपभोक्ताले खानेपानीमा अतिरिक्त खर्च गर्नु पर्ने थिएन । अहिले त पिउनका लागि जारको पानी पनि किन्नु परेको छ, संस्थालाई युनिट अनुसारको रकम पनि भुक्तानी गर्नुपरेको छ ।’ उहाँले भन्नुभयो । यद्यपि संस्थाले उपलब्ध गराएको पानीका कारण घरायसी प्रयोजनका लागि ट्याङ्करकै पानी किन्नुपर्ने बाध्यता भने हटेको उपभोक्ताहरु बताउँछन् ।

करोडको प्रशोधन प्रणालीले पनि हटेन आर्सेनिक

सचिव महेश्वर घिमिरे

राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानीको शुद्धिकरणका लागि अनेकन उपाय अपनाउँदा पनि त्यो पूर्ण रुपमा सफल हुन सकेको छैन । बोरिङ गरेको पानी सुरुमा सेडिमेन्टेसन ट्याङ्कमा ल्याएर थिग्राईन्छ । पानीमा भएको रसायनिक तत्वहरुलाई हावाको उपस्थितिमा हटाउनका लागि मोटरको सहायताबाट हावा पठाइन्छ । त्यस पश्चात पानीलाई क्लोरिनेसन गरी चारवटा भेसल्सहरुमा क्रमैसँग शुद्धिकरण (प्रेसर फिल्टर) गरिन्छ । प्राविधिकका अनुसार ती हरेक भेसल्समा आर्सेनिक हटाउने गरी बेग्लाबेग्लै मेडियाको प्रयोग गरिएको छ ।

यो प्रशोधन प्रणाली जडानका लागि मात्र प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले १ करोड लगानी गरेको छ । उपभोक्ता संस्थाका सचिव महेश्वर घिमिरेका अनुसार १ करोड लागतमा पहिलो चरणमा प्रशोधन संयन्त्र जडान गरेपनि आर्सेनिक नघटेकाले फेरि डिभिजन कार्यालयले मेडिया परिवर्तन गर्न सहयोग गरिरहेको छ । ‘यसलाई व्यवस्थित गरेर शुद्ध पिउने पानी वितरण गर्नका लागि हामी प्रयत्नरत छौं’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार अनेकन प्रयास गर्दा पनि पानी पिउन योग्य नभएपछि विश्व स्वास्थ्य संगठन लगायत संस्थाले समेत चासो दिएको छ । तर यथेष्ट सहयोग प्राप्त नभएको उहाँको गुनासो छ । ‘हामी यस बिषयका विज्ञ परेनौं, डब्लुएचओले पनि प्रयास गर्नुभयो । तर खोई किन हो, उहाँहरुले पनि यथेष्ट ध्यान दिएजस्तो लागेको छैन । वितरण नै नगर्नु भन्दा त आर्सेनिकयुक्त भएपनि वितरण त गरौंन भनेर हामी पानी वितरण चाहिं गरिरहेका छौं ।’ उहाँले भन्नुभयो ।

सदस्य धनकुमार मैनाली

संस्थाका सदस्य धनकुमार मैनालीका अनुसार राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले करिब १३ सय घरधुरीका ३० देखि ३५ हजार जनसंख्यालाई पानी वितरण गरिरहेको छ । दैनिक बिहान ७ देखि करिब १० बजेसम्म पानी वितरण गर्दा दुवै ट्याङ्क मार्फत दैनिक करिब ९ लाख लिटर पानी वितरण हुने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार