काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार कार्यभार सम्हालेकै दिन नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राख्नुभयो । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उहाँले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको बताउनुभयो । फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रस्ताव राख्दै उहाँले हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताउनुभयो ।
ठोस फोहोरमैला बारे आफूलाई पनि ज्ञान रहेको भन्दै उहाँले आधुनिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । काठमाडौको ७५ प्रतिशत फोहोरलाई मलमा रुपान्तरण गर्न सकिने भन्दै उहाँले यसका लागि उपकरण ल्याउनुपर्ने बताउनुभयो । सिसडोेललाई मानिस बस्न योग्य बनाउनुपर्ने र बञ्चरेडाँडामा पनि फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै मेयर शाहले फोहोर व्यवस्थापन गर्न आफू, उपमेयर समेत रहेको टोली बनाउने प्रस्ताव गर्नुभयो ।
काठमाडौ उपत्यकामा रहेका सार्वजनिक शौचालय सरसफाइ र लैगिंक हिसाबले प्रयोगमैत्री नभएको कुरा उठिरहेका बेला उहाँले महानगरभित्र रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वननिक शौचालयका रुपमा प्रयोग गर्ने प्रस्ताव गर्नुभयो। यसका लागि आफूले चेन रेष्टुरेन्टहरुसँग छलफल समेत गरेको भन्दै मेयर शाहले महानगरले संकेत चिह्नहरु राखिदिनुपर्ने सुनाउनुभयो ।
विभिन्न बिषयहरुमा वडाध्यक्षहरुले छलफल गरेपछि बैठकको अन्त्यमा मेयर शाहले बुँदागत रुपमा निर्णय प्रस्ताव गर्नुभयो। महानगरबासीलाई धन्यवाद दिने, फोहोर मैला व्यवस्थापनका लागि सहकार्य गरेर ५र६ जना रहने कार्यदल बनाउने निर्णय प्रस्ताव गर्नुभयो ।
रेष्टुरेन्ट र पेट्रोल पम्पहरुसँग सार्वजनिक शौचालय सञ्चालनका लागि सहमति गर्ने प्रस्ताव गर्दै उहाँले सोध्नुभयो ‘यो पास भयो ?’ वडाध्यक्षहरुले सहमति अनुरुप टेबल ठोके ।