मेलम्चीको पानी आजदेखि बन्द, अब बर्षा सकिए पछि मात्र सञ्चालनमा आउने

🔗
229
Shares

काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्य  बन्द गरिएको छ । महाँकालचौर शाखा कार्यालयका अनुसार मेलम्ची खानेपानीको मूलढोका बन्द भएकाले खानेपानी वितरण बन्द गरिएको हो ।

टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि मङ्गलबारदेखि मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको हो ।

मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले मेलम्ची नदीबाट आएको पानी वर्षाको जोखिम बढ्दै गएकाले बन्द गरिएको जानकारी दिनुभयो ।

“आजदेखि बन्द गर्न सुरु गरिएको छ, वर्षायामको जोखिम घटेर मेलम्ची नदीको पानी सफा भएपछि मात्रै नियमित पानी पठाउने काम हुन्छ,” उहाँले भन्नुभयो ।

यसको विकल्पमा बागमतीको पानी प्रशोधन गरेर पठाउने गृहकार्य भइरहेको पनि पन्तले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गर्न थालेको छ ।

खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगोरुपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको र आजैदेखि मेलम्ची खानेपानी वितरणको समय तालिका हेरफेर गरिने सूचनामा उल्लेख छ । गोरखापत्र अनलाइनबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार