
काभ्रे : काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयबासिन्दालाई स्वच्छ खानेपानी पु याउने योजनाको काम अन्तिम चरणमा पुगेको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन केही ढिलाई भएको हो । आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
तेमाल बृहत् खानेपानी आयोजनालाई कोरोनाको दुई लहर र गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको हो । अबको छ महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको अन्तिम चरणको काम भैरहेको जनाएको छ ।
“आउँदो मङ्सिर महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भन्नुभयो । उहाँका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको हो ।
हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताउनुभयो । उहाँका अनुसार २३ वटा ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्य भइरहेको छ । साथै प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।
पाइपको मेनलाइन अन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएको थियो । सोही अनुसार ३१ किमी पाइन बिछ्याउने कार्य सकिएको लामाले जानकारी दिनुभयो । साथै रोशी गाउँपालिका–७ कटञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उहाँले बताउनुभयो ।
अध्यक्ष लामाका अनुसार उक्त आयोजनाले तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेँसीका कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई हाल सुरक्षित गरिएको छ ।


954 पटक हेरिएको 

