
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा सञ्चालित ‘Towards Achieving Resilient and Water Safe Urban Communities in selected areas of Kathmandu Valley’ परियोजना अन्तर्गत महालक्ष्मी नगरपालिकामा खानेपानी परिक्षण प्रयोगशाला स्थापना गरिन लागेको हो ।
महालक्ष्मी र गोदावरी नगरपालिका भरिको खानेपानी परिक्षणका लागि नगरपालिका स्तरमा स्थापना गरिने प्रयोगशाला लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कर्यालयमा रहने एन्फोले जनाएको छ । यसका लागि आवश्यक उपकरण एवं सरसामग्री हस्तान्तरण गरिसकेको छ ।
उपलब्ध उपकरणको जडान, सञ्चालन विधि, पारामितिहरु परिक्षण गर्ने तरिका लगायत बिषयमा छिट्टै तालिम आयोजना गरी प्रयोगशाला सञ्चालनमा ल्याईने एन्फोले जनाएको छ । गोदावरी नगरपालिकाले भने आफ्नै लगानीमा पनि प्रयोगशाला स्थापना गरिने जनाएको छ ।

लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आफ्नै मिनी ल्याव छ । उक्त ल्याब मार्फत खानेपानीमा तोकिएको पारामितीहरुको परिक्षण गरी उपभोक्तालाई वितरण गरिररहेको संस्थाका अध्यक्ष ई.राम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रयोगशाला स्थापना भएपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका भित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले समेत आफ्नो पानीको परिक्षण गरी गुणस्तर सुनिश्चित गर्न सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सरकारले हालै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ जारी गरेको छ । उक्त मापदण्डमा हरेक खानेपानी सेवा प्रदायक संस्थाले खानेपानीको अनिवार्य परिक्षण गरी गुणस्तर सुनिश्चित गरेर मात्र वितरण गर्नुपर्ने प्रावधान छ ।

नयाँ गुणस्तर मापदण्ड अनुसार अबको पाँच बर्षभित्र सबै सेवा प्रदायकले १९ वटा पारामितिहरु सबै प्रणालीमा अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङ्क तयार गर्नुपर्नेछ ।
यी बाहेक प्राकृतिक प्रक्रिया, औद्योगिक क्रियाकलाप, मानव वस्तीबाट उत्सर्जित हुन सक्ने हानिकारक धातु तथा ढलजन्य यौगिक, कृषिजन्य क्रियाकलापका कारण पानीमा उत्पन्न हुन सक्ने भौतिक, जैविक तथा रासायनिक प्रदुषणलाई समेत मध्यनजर राखी जोखिम तथा सान्दर्भिकताको आधारमा थप ९ वटा पारामितिको समेत परिक्षण गर्नुपर्ने उल्लेख छ ।


964 पटक हेरिएको 

