उपत्यकामा थुप्रिएको फोहोर उठाउन विभिन्न क्षेत्रको सहयोग, दैनिक ३ सय गाडीले फोहोर ढुवानी गर्ने

  वास खवर सम्वाददाता  580 पटक हेरिएको

काठमाडौ : काठमाडौमा महिनौं दिन देखि थुप्रिएको फोहोर उठाउन विभिन्न क्षेत्रबाट सहयोग गर्न थालिएको छ । फोहोर ढुवानी गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति लगायतले निःशुल्क गाडी उपलब्ध गराएको काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो ।

सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेको र हिजो बिहीबार मात्रै २ सय ८४ गाडी फोहोर बन्चरेडाँडामा खसालिएको महानगर प्रमुख शाहले जानकारी दिनुभयो । महानगरसँग फोहोर बोक्ने ट्रकहरु सीमित रहेको र ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिने भएकाले उहाँले थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

हिजो बिहीबार काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दा सहित सरोकारवाला बीच बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न सहमति भए पछि आज बिहानै काठमाडौबाट फोहोर बोकेका गाडी बञ्चरेडाँडा जान थालेका छन् ।

बिहानैदेखि फोहोर विसर्जन भइरहेको र काठमाडौबाट पनि गाडी पुगिरहेका काठमाडौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहोर बोकेका गाडीलाई रोकेका छैनन् ।

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । सहमति अनुसार ल्याण्डफिल साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्नेछ भने पक्राउ परेका एक जनाको पनि रिहाइ गरिनेछ । फोटो : बालेन शाहको फेसबुक पेजबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार