पँधेरी खोल्सी आयोजनाले हटायो खानेपानीको दुःख, वातावरण तथा मुहान संरक्षणको काम सँगसँगै

पानीको प्रबन्धले कृषि उत्पादनको सम्भावना बढायो

  वास खवर सम्वाददाता  663 पटक हेरिएको
🔗
24
Shares

इलाम : बर्षौदेखि खानेपानीको सहज सुविधा नपाएका इलाम नगरपालिका वडा ६ स्थित घोषमा व्यवस्थित रुपमा खानेपानी वितरण वितरण गरिएको छ । बर्षौदेखि स्वच्छ पिउने पानीको उपभोग गर्न नपाएका यहाँका स्थानीय बासीले पँधेरी खोल्सी खानेपानी आयोजना निर्माण सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको हो ।

‘पहिले पानी बनाउन मुहानमा गइरहनुपर्ने, समयमा पानी नआउने गर्दा धेरै समय पानीको जोहो गर्नमा नै खर्चिनु बाध्यता थियो’ स्थानीय तोया कुमारी सुवेदीले भन्नुभयो ‘पहिले चैत वैशाखमा मुहानमा नै पानी सुकेर कता कता बोक्न कुद्नु पर्थ्यो दुःख थियो । पानी लिन जानु पर्ने भएपछि नानीहरू स्कुल पठाउन समेत ढिलो हुने गरेको थियो अहिले बिहान ६ बजे घरको धारामा पानी आउँछ कति सजिलो भएको छ।’

पानीको व्यवस्थापन भएपछि पानीको निहुँमा छिमेकी सँग विवाद गर्न नपर्ने र दैनिकी सहज भएको उपभोक्ता समितिकी सचिव उर्मिला तामाङ बताउनुहुन्छ । ‘पानीको अभाव झेल्दै आएका यस स्थानका बासिन्दा भीर पाखामा गएर पानी बोक्नु पर्थ्यो।’ दिउँसो मात्रै नभई राती समेत पानी भर्न खटिनु पर्ने तामाङको भनाई छ । घरमा पानीको सुविधा भएपछि समय बचत भएको र बाहिरको काममा जानलाई छिटो र सहज भएको उहाँ बताउनु हुन्छ ।

वातावरण तथा मुहान संरक्षणको काम सँगसँगै

घरायसी प्रयोजन र गाईबस्तुको लागि पानीको समस्या झेल्दै आएका स्थानीयलाई सहज भएको बताउँछन् । इलाममा रहेको सहयात्रा नेपाल संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाबाट १५ घरपरिवार लाभान्वित भएका छन् । एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरिएको छ । मुहान संरक्षण कार्यक्रम अन्तर्गत टेवाको अनुदानमा पँधेरी खोल्सी खानेपानी आयोजनामा स्थानीय स्रोत साधनको प्रयोग गरी मुहान संरक्षण गरिएको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनुभयो ।

विपन्न तथा श्रमिक परिवारको बाहुल्यता रहेको घोषमा वातावरण तथा मुहान संरक्षण गर्दै स्वच्छ खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको शिवाको भनाई छ । पानीको व्यवस्थापन गर्न महिला नै अघि सर्नुपर्ने भएकोले घर घरमा धारा जडान हुँदा महिलालाई सहज हुने र समयको बचत गरी अन्य कार्यमा समय दिन सक्ने शिवाले बताउनुभयो । स्थानीय उपभोक्तालाई सरसफाइ सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र स्थानीय सामाग्रीबाट वातावरणमैत्री डसविन निर्माण गरी टोल टोलमा राखिएको उहाँले बताउनुभयो ।

पानीको प्रबन्धले कृषि उत्पादनको सम्भावना बढायो


शुद्ध पिउने पानी व्यवस्थापन सँगै कृषि उत्पादनको लागि सहज बन्ने स्थानीयबासी बताउँछन् । स्वच्छ खानेपानी उपभोग गर्न पाउनु नागरिकको अधिकार भएपनि वर्षौँ देखि यहाँका स्थानीयवासी त्यो सेवा बाट वञ्चित थिए । तीनै तहका सरकारले नागरिकलाई स्वच्छ खानेपानीको सुविधा दिन नसक्दा सास्ती व्योहोर्दै आएका थिए।

इलाम नगरपालिकाकामा साना शहरी खानेपानी आयोजना निर्माणको चरणमा रहेपनि यहाँ अधिकांश श्रमिक र विपन्न परिवारको बसोबास रहेकोले शुल्क तिरेर पानी प्रयोग गर्न नसक्ने स्थानीय बताउँछन् ।

घरमै खानेपानी आएसँगै पानीको जोहो गर्नको लागि खर्चिने समय स्थानीयले अन्य काममा लगाउन पाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार