काठमाडौ : नबिल बैंक र डोको रिसाइक्लर्सबीच फोहोर व्यवस्थापन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा डोकोका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार डोकोले नबिल बैंकमा रहेका काम नलाग्ने कागजपत्रलाई टुक्र्याएर पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ । सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापन गर्नेछ ।
बैंकमा प्रयोग भइ काम नलाग्ने अवस्थामा रहेका कागज टुक्र्याइ पुनः प्रयोग योग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ ।
त्यसैगरी व्यवहार परिवर्तनको लागि बैंकका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ ।