
जनकपुरधाम : मधेस प्रदेशको १० वटा स्वास्थ्य संस्थाहरुमा Implementations of Water and Sanitation for Health Facility Improvement Tools (WASHFIT) कार्यक्रम सञ्चालन गरिने भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (Noble Compassionate Volunteers (NCV) ले जनकपुरधाम उपमहानगरपालिकाको ५ र हंसपुर नगरपालिकाको ५ गरी १० वटा स्वास्थ्य संस्थामा वास फिट कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एन.सी.भी. ले जनकपुरधाम नगरपालिकाको वडा नं. १५ स्थित रामपुर आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. १९ को वेगांशिवपुर स्वास्थ्य चौकी, वडा नंं २१ को कुर्था स्वास्थ्य चौकी, वडा नं. २२ को बसबिट्टी स्वास्थ्य चौकी र वडा नं. २५ को लोहना स्वास्थ्य चौकीमा वाश फिट कार्यक्रम सञ्चालन गर्नेछ ।
यस्तै हँसपुर नगरपालिकाको वडा नं. १ को मानसिंहपट्टि स्वास्थ्य चौकी, वडा नंं. ३ को कठपुल्ला स्वास्थ्य चौकी, वडा नं. ५ को सुगानिकास स्वास्थ्य चौकी, वडा नं. ६ को सोनिगामा आधारभुत स्वास्थ्य केन्द्र र वडा नंं ९ को सोनिगामा स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन गरिने एन.सी.भी. का कार्यक्रम व्यवस्थापक सागर शाही ठकुरीले जानकारी दिनुभयो ।
वाश फिट कार्यक्रम सञ्चालन हुने सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुख एवं नगरपालिकाका सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम र योजना तर्जुमा गोष्ठी समेत गरिएको छ ।

वास फिट कार्यक्रम अन्तर्गत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा फोहोरमैला व्यवस्थापन समिति गठन गरी समितिको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमहरु सञ्चालन गरिने कार्यक्रम व्यवस्थापक ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य संस्थाहरुको आवश्यकताको आधारमा प्लासेन्ट पिट, फोहोर बर्गीकरण पिट, इन्सिनेरेटर निर्माण गरिनेछ । यस्तै शौचालयहरुको पुनःनिर्माण एवं मर्मत सम्भार, हातको स्वच्छता अभिवृद्धिका लागि सामूहिक हात धुने स्टेशनको निर्माण तथा खानेपानी, सरसफाइ र स्वच्छता सेवाहरुको सुधार गरिनेछ ।
यस अघि NCV ले मधेस प्रदेशकै विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालन गरिएको खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमबाट ती स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाइ र स्वच्छता सेवाहरुमा व्यापक सुधार भएको पाईएको छ ।



815 पटक हेरिएको 

