वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीमा फोहोर फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । प्र २-०३-००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ नम्बरको ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
वीरगन्ज महानगरपालिका – २१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा नियन्त्रणमा लिई तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक एक एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान चलाइरहेको छ। नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।
महानगरले पाँचवटा उद्योगलाई पत्र पठाएर नदीमा जथाभावी फोहोर नमिसाउन चेतावनी समेत दिएको छ। वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगकै कारण नदी प्रदूषण हुँदै आएको छ।