
सर्लाही, लालबन्दी : लालबन्दी नगरपालिकाको वडा नंं. १६ परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । नयाँआँपचौर खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी उपभोग गर्ने ७ सय ६३ घरलाई मधेस प्रदेश सरकारको खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभयो ।
२०६८ सालमा ग्रामीण खानपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा निर्माण भएको खानेपानी योजना पटक पटक आएको बाढी र पहिरोले क्षति पुर्याएपछि दिगो हुन सकेको थिएन ।
लालबन्दी नगरपालिका र युनिसेफ नेपालको सहयोगमा २०७७ माघ २० गतेबाट नयाँ आँपचौर खानेपानी तथा सरसफाइ योजना सुरु भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा’ को चरणसम्म आईपुगेको हो ।
हाल कालिन्जोर खोलाको करिव साढे दुई किलोमिटर टाढादेखि ३ वटा मुहानबाट बस्तीसम्म पानी ल्याएर वितरण गरिएको छ । कूल ३६.७९ किलोमिटरमा फैलिएको यो योजनाले २ वटा रिजर्भ्वायरमा पानी संकलन गरी ७ सय ६३ घरमा धारा जडान गरी सेवा प्रदान गरिरहेको छ । यसबाट ५ हजार २ सय ५३ जना लाभान्वित भएका छन् । सेवा क्षेत्रभित्र २ वटा सामुदायिक विद्यालय, २ वटा निजी विद्यालय र अन्य ३ वटा संस्थाहरु समेत रहेका छन् ।
नयाँ आँपचौर खानेपानी तथा सरसफाइ योजना निर्माणका लागि लालबन्दी नगरपालिका, युनिसेफ नेपाल, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द र समुदायको गरी कुल १ करोड, ११ लाख ८८ हजार ८ सय ६४ रुपैयाँ लगानी रहेको छ ।
खानेपानी बहुआयामिक क्षेत्र हो : मन्त्री कलवार

खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले खानेपानीले केवल खानेपानीको क्षेत्रमा मात्र योगदान पुर्याउने नभई धेरै क्षेत्रमा सघाउ पुर्याईरहेको बताउनुभयो । उहाँले खानेपानी बहुक्षेत्रीय बिषय भएकाले खानेपानी आयोजनाको निर्माणबाट नागरिकको स्वास्थ्यमा सुधार आउने, पानी ओसार्न लाग्ने समयमा बालबालिकाले अध्ययन गर्न पाउने भएकाले शैक्षिक अभिवृद्धि हुने, खानेपानी प्रसस्त भएपछि मानिसले व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा ध्यान दिने भएकाले जीवनशैलीमा समेत सहजता आउने बताउनुभयो ।
खानेपानीमन्त्री कलवारले सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि गर्न नगरपालिकाहरुले गरिरहेको प्रयासको प्रशंसा गर्दै यस कार्यमा प्रदेश सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । ‘तपाई सुरक्षित खानेपानी उपलब्ध गराउने बिषय लिएर प्रदेश सरकारमा आउनुहोस्, म सहयोग गर्न तयार छु । मधेश प्रदेशका नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने सवालमा तपाई भन्दा म एक कदम अगाडि हुनेछु’ उहाँले भन्नुभयो ।
मन्त्री कलवारले सुरक्षित खानेपानीको बिषयमा सम्बोधन गरिरहँदा दर्शकले जोडतोडले ताली बजाएका थिए ।
घोषणा सभामा आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि पानी परिक्षण गर्न ‘परिक्षण किट’ समेत प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामबहादुर पाण्डेलाई किट हस्तान्तरण गर्नुभयो ।

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सभामा लालबन्दी मधेश प्रदेश निर्वाचन क्षेत्र नं. १ ख की सांसद वेची लुगेली, प्रदेश निर्वाचन क्षेत्र नं. १ ख का मा. वेचीलुगंली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उप मेयर कल्पना पाख्रिन, पूर्व मेयर मानबहादुर खड्का, युनिसेफ नेपाल काठमाडौका खानेपानी सरसफाइ अधिकृत सुरेन्द्र बाबु ढकाल, युनिसेफ नेपाल, जनकपुर फिल्ड कार्यालयका खानेपानी सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।
परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको अवसरमा खानेपानी योजना निर्माण सम्पन्न गर्न विशेष योगदान दिएका महानुभावहरुलाई सम्मान गरिएको थियो । करिब ५ सय जनाको सहभागिता रहेको घोषणा सभा वडा नं. १६ का वडा अध्यक्ष गणेश बहादुर थापाको अध्यक्षतामा सम्पन्न भयो ।



886 पटक हेरिएको 

