
सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा खानेपानीको वितरण लाइनमा क्षति पुर्याएपछि सुर्खेतको बराहताल गाउँपालिकाको वडा नंं. ८ स्थित बेलचौर टोलका बासिन्दा खानेपानीबाट बञ्चित भएका छन् । ओदालताल कृषि सडक निर्माण गर्ने क्रममा बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरण भईरहेको खानेपानीको पाईप टुटफुट भएपछि बेलचौरका बासिन्दा खानेपानी सुविधाबाट बञ्चित भएका हुन् ।
बेलचौर टोलको ठाउँ ठाउँमा गरी करिब ५ सय मिटर वितरण पाइप लाइनमा क्षति पुगेको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन बुचा मगरले जानकारी दिनुभयो । कृषि सडक निर्माण गर्ने क्रममा पनि खानेपानी संस्थासँग कुनै समन्वय नगरेको र टुटफुट गरेपछि पनि मर्मत सम्भारमा चासो नदेखाएको उहाँले बताउनुभयो ।
अध्यक्ष मगरका अनुसार बेलचौर टोलका उपभोक्ताले फागुन ३० गते देखि खानेपानी उपभोग गर्न पाएका छैनन् । पाइपमा क्षति पुगेपछि बेलचौर टोलमा पानी जाने लाइन बन्द गरिएको उहाँले बताउनुभयो ।
बेलचौरका उपभोक्ताहरुले भने खानेपानी उपलब्ध गराईदिन उपभोक्ता संस्था समक्ष सामूहिक निवेदन दिएका छन् । आफूहरु खानेपानीबाट बञ्चित भएकाले तत्काल खानेपानी उपलब्ध गराईदिन माग गर्दै यही चैत्र १ गते खानेपानी उपभोक्ता संस्थामा निवेदन दिएका थिए ।

विपक्षीलाई उपस्थित गराउन प्रहरी समक्ष निवेदन
बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको पाइपलाइनमा क्षति गराउनेलाई उपस्थित गराई छलफल गराईदिन प्रहरी समक्ष निवेदन पेश गरेको छ । ओदालताल कृषि सडकले खानेपानीको पाइपमा क्षति पुर्याए पछि संस्थाको कार्यसमितिको बैठक बसी प्रहरी चौकी जाने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम खानेपानी उपभोक्ता संस्थाले प्रहरी चौकी बड्डीचौरमा निवेदन दिएको हो । सडक निर्माण गर्दा पनि खानेपानी उपभोक्ता संस्थासँग कुनै समन्वय नगरेको र क्षति भएपछि पनि मर्मतको लागि कुनै चासो नदेखाएकाले प्रहरी चौकीमा आवेदन दिनुपरेको अध्यक्ष मगरले बताउनुभयो ।
खानेपानीको पाइप मर्मत गरी तत्काल खानेपानी उपलब्ध गराउन गाउँलेले उपभोक्ता संस्था समक्ष माग गरिरहे पनि संस्थासँग स्रोतको अभावमा मर्मत गर्न नसकेको अध्यक्ष मगरले बताउनुभयो । खानेपानीको संरचनामा जसले क्षति पुर्याए पनि त्यसको मर्मत सम्भारको जिम्मेवारी उसैको भएकाले क्षति गराउने पक्षले नै तत्काल बनाईदिनुपर्ने अडानमा आफू रहेको उहाँले बताउनुभयो ।
बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १२ सय बढी घरपरिवारलाई स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ ।
के छ कानुनी व्यवस्था ?
खानेपानी तथा सरसफाइ ऐन २०७९ को परिच्छेद ९ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । उक्त परिच्छेदको खण्ड (ङ) देखि (ञ) सम्मको कसुर गरेमा तीन महिनादेखि एक बर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
बराहताल गाउँपालिकाको वडा नंं. ८ स्थित बेलचौरमा कृषि सडक निर्माण गर्दा पाइपमा पुर्याएको क्षतिको बारेमा खण्ड (छ) आकर्षित हुन सक्नेछ ।
खण्ड (छ) मा भनिएको छ ‘खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवा प्रणालीको कुनै संरचना वा जडित पाइप वा सामान वा जडित मिटर वा प्रशोधन प्रणाली वा अन्य उपकरण बिगारे वा नष्ट गरेमा’
यस्तै दफा ४३ को उपदफा (२) मा ‘कसैले खानेपानी वा सरसफाइ आयोजना वा सेवा प्रणाली र त्यसको संरचनामा कुनै पनि प्रकारले हानी नोक्सानी वा क्षति पुर्याएमा मुद्दा हेर्ने अधिकारले उचित रकम क्षतिपूर्ति बापत भराई दिन सक्ने’ उल्लेख छ ।


2809 पटक हेरिएको 

