
काठमाडौ : अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष काठमाडौका बासिन्दाले सन्चोले पानी उपभोग गरे । मंसिरमा मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि विगतमा जस्तो १० दिनमा २ घण्टा मात्र पानी आउने स्थिति बनेन । खास गरी चक्रपथ भित्रको क्षेत्रमा दुई दिन विराएर खानेपानी वितरण भईरहेको छ । कतै कतै एक दिनको फरक र अनामनगर क्षेत्रमा भने चौबीसै घण्टा वितरण भईरहेको छ ।
बर्षा लाग्न २ महिना मात्र बाँकी रहँदा विगतका बर्षहरुमा झैं मेलम्ची बन्द हुने हो कि भन्ने चिन्ता राजधानीबासीमा छाएको छ । अघिल्लो सरकारको पालामा खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनर्स्थापना भए सँगै बर्षामा पनि मेलम्चीको पानी बन्द नहुने आशा त पलाएको छ तर सुनिश्चित गर्न भने नसकिने मेलम्ची सम्बद्ध अधिकारी बताउँछन् ।
टेलिभिजन कार्यक्रम ‘टक अफ द टाउन’ मा काठमाडौ उपत्यकामा खानेपानीको दिर्घकालीन व्यवस्थापनका बिषयमा पत्रकार जगदीश खरेलसँग कुराकानी गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले उपलब्ध समयलाई अधिकतम उपयोग गरी बर्षामा पनि मेलम्ची बन्द गर्नु नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार मेलम्चीको दिर्घकालीन व्यवस्थापनका लागि दातृ निकाय एसियाली विकास बैंकले तीन वटा उपाय सुझाएको छ । दुई बर्ष अघिको बाढीले मेलम्ची खानेपानीमा ठूलो क्षति पुर्याएपछि एसियाली विकास बैंकले क्यानेडियन परामर्शदाता मार्फत त्यसक्षेत्रको भौगर्भिक अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।
यी हुन् एडिबीले दिएको तीन उपाय
एसियाली विकास बैंक (एडीबी) ले क्यानेडियन परामर्शदाता मार्फत गरेको अध्ययनबाट तीन वटा उपाय अपनाउन सुझाव दिएको छ । जो निम्न छन् ।
१. अल्पकालीन उपाय :
एडिबीले सुझाएको पहिलो उपाय ‘अल्पकालीन योजना’ अहिले कार्यान्वयन गरिरहेको छ । यस योजना अन्तर्गत इन्टेकमा स्थायी संरचना निर्माण नभए पनि अस्थायी तरिकाले पानी पथान्तरण गरी राजधानीमा पठाउन सकिने भनेको थियो । यो उपाय मनसुन सुरु नहुँदा सम्मका लागि मात्रै हो ।
२. मध्यकालीन उपाय :
मेलम्ची खानेपानी विकास समितिले अब कार्यान्वयन गर्न लागेको मध्यकालीन उपाय हो । यो उपाय अन्तर्गत अहिलेकै इन्टेक निर्माण गरिएको स्थानमा थप संरचना बनाएर बाह्रै महिना पानी ल्याईनेछ । तर यो इन्टेक सारेर सञ्चालनमा नआउँदा सम्मका लागि मात्र हो ।
एडिबीले अहिलेको इन्टेक निर्माण गरिने ठाउँ उपयुक्त नभएको बताएकाले त्यहाँबाट इन्टेक सार्नुपर्ने र त्यो अवधिसम्मका लागि केही संरचना निर्माण गरी बाह्रै महिना पानी ल्याईने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । मध्यकालीन उपायका लागि एडिबीले अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाईसकेको छ ।
३. दीर्घकालीन उपाय :
दीर्घकालीन उपाय भनेको दुईबर्ष अघिको जत्रै बाढी, पहिरो आए पनि संरचनामा कुनै पनि क्षति नपुग्ने गरी बनाउने योजना हो । यसका लागि अहिलेको हेडवर्क्स भन्दा करिब ५/६ सय मिटर माथि सर्कथली भन्ने ठाउँ पहिचान भईसकेको छ ।
यसका लागि अहिले भएको सुरुङलाई ४ सय मिटर जत्ति लम्ब्याउनुपर्ने र इन्टेकलाई करिब ६ सय मिटर माथि सार्नुपर्ने उहाँको भनाइ छ । ‘अघिल्लो बर्षको जस्तै ठूलो बाढी आयो भने पनि नपुरिने खालको छ । दुवै पट्टि कडा चट्टान भएको ठाउँ फेला परेको छ । माथिबाट लेदो आएपनि पास भएर जान्छ थुप्रिदैन’ उहाँले भन्नुभयो ।


2340 पटक हेरिएको 

