काठमाडौ : खानेपानीमन्त्रीको जिम्मेवारी महिन्द्र राय यादवले पाउनु भएको छ । यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनु भएका यादवको जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री यादवको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
यसअघि जनमत पार्टीको तर्फबाट मन्त्री बनेका अब्दुल खानले चैत्र १९ गते राजीनामा बुझाएपछि खानेपानी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै राख्नुभएको थियो । नयाँ जिम्मेवारी पाउनु भएका खानेपानीमन्त्री यादवले आजै पदभार सम्हाल्नुभएको छ । मन्त्री यादवले सरसफाइ कोष वनाउने सैद्वान्तिक निर्णय गर्नुभयो ।
।
उहाँलाई सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव, सहसचिव, खानेपानी तथा ढल व्यवस्थापन विभाग, मेलम्ची खानेपानी विकास समिति लगायत मन्त्रालय मातहतका निकायका प्रमुख तथा कर्मचारीहरुले स्वागत गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भने सुरेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले मन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । उहाँ आजै मन्त्री नियुक्त हुनुभएको हो ।
को हुन् खानेपानीमन्त्री यादव ?
माओवादी केन्द्रको चिन्हमा चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता हुनुहुन्छ महिन्द्र राय यादव । गत मंसिरमा भएको निर्वाचनमा उहाँ सर्लाही २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।
२०७४ सालको चुनावमा पनि उहाँ सर्लाही क्षेत्र नं. २ बाटै निर्वाचित हुनुभएको थियो । तराई मधेश क्षेत्रको एक अपराजित नेताको रूपमा परिचित यादव २०७४ सालको चुनावमा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित हुनु भएको थियो । त्यसपछि बाबुराम भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी नामक अलग्गै पार्टी गठन भएपछि महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीमा समाहित हुनुभएको हो ।
विक्रम संवत २०३६ सालबाट राजनीतिमा होमिएका यादव २०४२ को सत्याग्रह तथा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको लागि संयुक्त वाम मोर्चाको तर्फबाट आन्दोलन परिचालन जिम्मेवारी सम्हालनुभएको थियो ।
२०४६ सालको जनआन्दोलनमा फागुन ७ गतेदेखि २६ गतेसम्म जेल जीवन एवं २०६२/०६३ को जनआन्दोलमा काठमाडौँमा प्रहरी हिरासतमा पर्नुभएको थियो । २०५१ सालदेखि निरन्तर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदै आउनुभएका रायसँग भौतिक तथा यातायात मन्त्रालय, उद्योग, सिँचाइ र सामान्य प्रशासन मन्त्रालय तथा कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ ।
अमेरिका र स्वीट्जरल्याण्ड लगायतको भ्रमण गरिसक्नुभएका यादवको जन्म २०११ साल असार १० गते हरिपूर्वा नगरपालिका वडा नं. ९ सर्लाही भएको हो । तीन छोरा र तीन छोरीका पिता यादवले एस.एल.सी.सम्मको अध्ययन गर्नुभएको छ ।