मेलम्ची खानेपानी केही दिनका लागि बन्द, राष्ट्रिय सभाका अध्यक्ष लगायत सांसदहरुद्वारा अनुगमन

  वास खबर सम्वाददाता  231 पटक हेरिएको


काठमाडौ : मेलम्ची खानेपानीको सुरुङ आजदेखि केही दिनका लागि बन्द गरिएको छ । मेलम्चीको बाँधस्थलमा केही स्थायी संरचना निर्माण गरी बर्षा याममा समेत पानी वितरण गर्ने हेतुले सुरुङ बन्द गरिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्यहरुले अनुगमन गर्नुभएको छ । राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी सरकारलाई सुझाव दिने नियमित कार्यक्रम अन्तर्गत मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरिएको हो ।

समितिले सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह पेश गर्दै आएको छ ।

अनुगमनका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.कमलराज श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको वर्तमान स्थितिबारे प्रकाश पार्नुभयो । उहाँले हिउँदको समयमा जेनतेन पानी वितरण गर्ने र बर्षा लाग्न साथ बन्द गर्ने परिपाटीको अन्त्यका लागि सुरुङ बन्द गरेर काम गराएको जानकारी गराउनुभयो । ‘मौसमले साथ दिएमा केही दिनभित्रै काम सम्पन्न गर्नेछौं । मलाई लाग्छ, यसपालीको बर्षामा विशेष परिस्थितिमा बाहेक मेलम्चीको पानी बन्द गर्नुपर्ने स्थिति आउने छैन ।’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।

मेलम्ची खानेपानी विकास समितिले एक सूचना जारी गरी आज देखि १५ दिनसम्मको लागि मेलम्चीको पनि अवरुद्ध हुने जनाईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार