ऐतिहासिक कुवा जीर्ण बन्दै, संरक्षण अभावमा प्रदुषित पानी पिउन वाध्य

  वास खबर सम्वाददाता  175 पटक हेरिएको

बैतडी : बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंमा रहेको ८२ वर्ष पुरानो कुवा जीर्ण बन्दै गएको छ। कुवाको पानी संरक्षणका लागि निर्माण गरिएको स्लेटको छानो र भित्ताहरु भत्किने अवस्थामा पुगेको स्थानीय शंकर वोहराले बताउनुभयो। घेरा पर्खालको उचित प्रबन्ध नहुँदा बजार क्षेत्रको भल कुवामा मिसिन गई पानी दुर्गन्धित हुने गरेको उहाँले बताउनुभयो ।

१९९८ सालमा निङ्लासैनी भगवती मन्दिरमा जल चढाउने उद्देश्यले निर्माण गरिएको भए पनि स्थानीयले पिउने, कपडा धुने, गाईवस्तुलाई खुवाउने लगायत कामका लागि समेत प्रयोग गर्ने गरेका छन्।

१४ वटा सिंढी र झण्डै ८ फिट उचाइ तथा सोही मात्रामा चौडाइ रहेको कुवामा झण्डै ८ हजार लिटर पानी संकलन गर्न सक्ने क्षमता रहेको छ । बजारदेखि पाँच सय मिटर दुरीमा रहेको देन्वालो देहीमाण्डौं बजार र आसपासका बस्तीहरुको पानीको मुख्य श्रोत हो। हरेक वर्ष चार पटक मेला लाग्ने निङ्लासैनी मन्दिरमा मेला भर्न आउने, भक्तजन, मेलामा सञ्चालन गरिने होटल व्यावसायीले समेत यहीँ कुवाको पानी प्रयोग गर्ने गर्दछन्।

चारैतिर पक्की पर्खाल, माथि स्लेटको छानो भएका कारण कुवाको पानी सफा हुन्थ्यो तर पछिल्लो समय जीर्ण संरचनाका कारण पानी दुर्गन्धित हुने गरेको स्थानीय सूर्य बोहराले बताउनुभयो । पछिल्लो समय देहीमाण्डौं बजार क्षेत्र र आसपासका ग्रामीण क्षेत्रमा घरघरमा धारा जडान गरिए पनि नुहाउन तथा कपडा धुन स्थानीयले यहीँ कुवाको पानी प्रयोग गर्ने गरेको स्थानीय व्यापारी भुपेन्द्र चन्दले बताउनुभयो । ‘कुवा बाहिर नुहाउन कपडा धुन पर्याप्त ठाउँ छ, पानी पनि प्रशस्त प्रयोग गर्न मिल्छ, कुवाको संरक्षण नहुँदा जीर्ण भएको छ, उहाँले भन्नुभयो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार