पाँचखाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत पुरा

थपेको समयावधि आगामी पुसमा सकिदै

  वास खबर सम्वाददाता  174 पटक हेरिएको

काभ्रे : काभ्रेको पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयभित्र सम्पन्न गर्न निर्माणको कामलाई तीव्र बनाइएको छ। थपिएको समयभित्र काम सम्पन्न गरी सात हजार घरपरिवारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भईरहेको हो । आयोजनाको थप भएको समय अनुसार आउँदो पुस महिनाभित्र काम सम्पन्न गरी खानेपानी वितरण गर्नुपर्नेछ ।

विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नु पर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ता समिति बीच सम्झौता गरिए पनि कोरोना महामारी, सामग्री अभाव लगायत कारणले एक वर्ष समय थप गरिएको थियो ।

नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो। आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका छन्। जसअनुसार प्रति उपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका छन्।

हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षण समेत गरिएको छ। परीक्षणबाट मुहानमा लगातार चार पम्प प्रयोग गरी चार कलेक्टर वेलबाट सङ्कलन भएर दुईवटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटर मात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ। यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।

योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ। हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ। जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ।

समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताउनुभयो। आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा कलेक्टर-वेल चार, सम्प-वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङकी छ, पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर दुई, प्लेन सेडिमेन्टेसन ट्याङ्की दुई, र्‍यापिड-स्याण्ड फिल्टर एक), प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन एक सय ८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन्।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्‍याउने काम भइसकेको छ।

यस्तै, हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडान कार्य सकिएको लामछिानेले बताउनुभयो। उहाँका अनुसार कोरोना सङ्क्रमणका लहर तथा गत असार-साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण पनि आयोजनाको काम केही धकेलिएको हो।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्ने उल्लेख गरेपनि चालु आर्थिक बर्षको अन्त्यमा सम्पन्न नहुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार