
काठमाडौ : संघीय संसदको संयुक्त बैठकमा गत साल आजकै दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बजेट वक्तव्य प्रस्तुत गर्दै भन्नुभएको थियो ‘मेलम्ची जलाधारको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइनेछ ।’
मेलम्ची खानेपानी सम्बन्धी बजेट वक्तव्यको बुँदा नं. १७६ मा भनिएको थियो ‘मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौमा खानेपानी वितरण कार्य शुरु भइसकेको छ । मेलम्ची जलाधारको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइनेछ । याङ्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपुर्ति गर्ने योजना कार्यान्वयन गरिनेछ ।’
दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरुमा मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन विछ्याउने कार्य सुरु गर्न रु १ अर्ब ९२ करोड बजेट विनियोजन गरेको घोषणा गरिएको थियो ।
बजेट वक्तव्यमा उल्लेख भए अनुसार कार्यान्वयनको स्थिति के छ त ? मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर एवं प्रवक्ता राजेन्द्र प्रसाद पन्त भन्नुुहुन्छ ‘हामीले सुरुङ्गको भेण्टिलेसन प्रणालीको सुधार गर्ने काम सकेका छौं ।
२०७८ असार १ तथा श्रावण १६ गते मेलम्ची नदीमा आएको बाढीबाट आयोजनाको हेडवर्क्सको सम्पूर्ण संरचनाहरु क्षति भएको थियो । बाढी पश्चात आयोजनालाई अस्थायी रुपमा सञ्चालन गर्ने प्रयास हुँदै आएको उहाँले बताउनुभयो । चालु आर्थिक बर्ष २०७९/८० को वर्षायाम सुरु हुँदा जेठ १९ गते देखि सुरुङ बन्द गरिएको थियो ।
हेडवक्र्स तथा अम्बाथान अडिटको सफाइ कार्य सम्पन्न गरी २०७९ मंसिर १२ गते देखि अस्थायी रुपमा सुरुङबाट पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा वितरण गरिरहेको मेलम्ची खानेपानीले यस वर्ष बर्षायममा समेत सुरुङ्गमा थप जोखिम हुन नदिई सुरुङ्ग सञ्चालन निरन्तर राख्ने बिषयमा बिज्ञहरु सँग छलफल गरी सोही बमोजिम कार्ययोजना तयार गरी बैकल्पिक प्रणालीमा सुधार गर्ने र सुरक्षाका लागि केही संरचना निर्माण गर्ने काम भईरहेको छ ।
पानी प्रशोधन केन्द्र हस्तान्तरण
२०७९ फागुन २६ गते देखि सुन्दरीजल पानी प्रशोधन केन्द्र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण भएको छ र सोही मिति देखि केन्द्रको सञ्चालन काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडबाट हुँदै आएको छ भने काठमाडौ उपत्यकामा खानेपानी बितरणमा केही सहजता भएको छ ।
सुन्दरीजल पानी प्रशोधन केन्द्रमा रहेको बिद्युत उत्पादन ईकाईको परीक्षणको कार्य सम्पन्न भएको छ । जसबाट २ सय किलोवाट विद्युत उत्पादन भएको छ । यसबाट उत्पादित विजुली प्रशोधन केन्द्रमा उपयोग गरी बाँकी रहने विद्युत खरिद विक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गर्ने मेलम्ची खानेपानी विकास समितिको तयारी छ ।
स्थायी तथा दिगो रुपमा सञ्चालन गर्ने
खानेपानी मन्त्रालयको समन्वयमा दातृ निकाय एडिबिको तर्फबाट मेलम्ची जलाधारको अध्ययनको कार्य सम्पन्न गरिएको छ । प्राप्त प्रतिबेदनको आधारमा हेडवर्क्सको स्थायी समाधान गरी आयोजनालाई स्थायी तथा दिगो रुपमा सञ्चालनको कार्य योजना स्वीकृत गरी कार्य अगाडि बढाउने मेलम्ची खानेपानी विकास समितिको योजना छ ।
काठमाण्डौ उपत्यकामा दिनानुदिन जनसंख्याको चाप बढिरहेकोले खानेपानीको श्रोत थप गर्ने र आयोजनाको दोश्रो चरणको याङ्री तथा लार्के नदी पथान्तरणको कार्य समेत सुरु भई सकेको प्रवक्त पन्तले बताउनुभयो ।
मुख्य संरचनाको डिजाईन प्रतिबेदन तथा लगत स्टिमेट तयार गरिएको छ । मुल प्रवेशमार्ग निर्माणको कार्यले गति लिएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ मा हेडवर्क्स तथा सुरुङ र पानी प्रशोधनको निर्माण कार्य सुरु गर्न समेत कार्य योजना बनाईएको उहाँले बताउनुभयो ।


860 पटक हेरिएको 

