काठमाडौ : गत बर्ष जेठ १७ गते नै मेलम्चीको सुरुङ बन्द गरिएको थियो । बर्षा बाट हुन सक्ने सम्भावित क्षति रोक्न बर्खा नलाग्दै सुरुङ बन्द गरिएको थियो । सुरुङ बन्द गर्नु स्वभाविक पनि थियो, किनकि त्यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्ची खानेपानीको हेडवर्क्समा निर्माण गरिएको सबै संरचना ध्वस्त बनाएको थियो ।
अहिले मनसुन सुरु भईसकेको छ । तर मेलम्चीको सुरुङ बन्द गरिएको छैन । शनिबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खानेपानीमन्त्री महिन्द्रराय यादव सहितको टोलीले मेलम्चीको अम्बाथान स्थित हेडवर्क्स क्षेत्रको अवलोकन गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनालाई साबिककै स्थितिमा राखी कुनै सुधारको काम नगरिएको भए गत साल जस्तै जेठमै सुरुङ बन्द गर्नुपर्ने अवस्था आईसक्थ्यो । २०७९ सालमा काठमाडौबासीले मेलम्चीको पानी ३९ दिन मात्र उपभोग गर्न पाएका थिए । गत साल २०७८ चैत्र २९ गते सुरुङमा हालिएको मेलम्चीको पानी २०७९ साल जेठ १७ गते बन्द गरिएको थियो ।
तर यस पटक मेलम्ची खानेपानी आयोजनाको सुरुङ, गेट र हेडवर्क्समा थुप्रै काम भएका छन् । जसका कारण सानातिनो बाढी आएको समयमा पहिले जस्तो सुरुङ नै बन्द गर्नुपर्ने अवस्था नरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता एवं सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले बताउनुभयो ।
कमलको कुशलताले काकाकुल काठमाडौलाई राहत
गत जेठ २६ गते काठमाडौ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर शाखाले आफ्नो आधिकारिक फेसबुक पेजमा मेलम्ची खानेपानी विकास समिति कार्यकारी निर्देशक र सम्पूर्ण टिमलाई धन्यबाद दिदै एउटा स्टाटस पोष्ट गर्यो । स्टाटसमा लेखिएको थियो ‘मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकज्यूको नेतृत्वमा विकास समिति कर्मचारी टिम र निर्माण व्यवसायी महानुभावहरूको कामको जति प्रशंसा गरे पनि कमै हुन्छ । काकाकुल काठमाडौंबासी नागरिकलाई मेलम्ची खानेपानी उपलब्ध गराउन प्राकृतिक कठिनाईका बावजुद दिनरात खटेर काम गर्नुहुने सबैलाई केयूकेएल सिंगो परिवारको तर्फबाट हार्दिक नमन छ ।’

शनिबार मेलम्ची खानेपानीको अवलोकन गर्न अम्बाथान पुग्नु भएका प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले समेत मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ र दिनरात नभनी खटिने इन्जिनियरहरुको उच्च प्रसंशा गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काम अन्य काम जस्तो नभएकाले प्रक्रिया पूरा गरेर बस्दा ढिलाई हुने भएकाले मेलम्ची खानेपानी विकास समितिलाई खारेज गर्नै नहुने बताउनुभयो ।
सरकारले गत सालको बजेट भाषण मार्फत खारेज गरेको ‘मेलम्ची खानेपानी विकास समिति’लाई २०७९ चैत्रको अन्तिममा पुनःस्थापना गर्ने निर्णय गरेको थियो । खारेजी पछि बजेट अभाव र कानुनी बाटो नहुँदा निश्क्रिय जस्तै बनेको मेलम्ची खानेपानी पुनःस्थापनाको निर्णय हुँदा कार्यकारी निर्देशक कमलराज श्रेष्ठको टिमलाई काम गर्ने अवधि ‘दुई महिना’ मात्र थियो ।
दुई महिनाकै समयलाई पनि अधिकतम उपयोग गरी कार्यकारी निर्देशक श्रेष्ठ नेतृत्वको टिमले मेलम्चीलाई सामान्य बाढी आएको समयमा बन्द गर्नु नपर्ने गरी संरचना निर्माण गर्नुभएको छ । उहाँले बर्षातको समयमा पानी बन्द नै गर्नुपर्ने अवस्था आएपनि ५०/६० दिन भन्दा बढी समय पानी नरोकिने बताउनुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठले वास खबरसँग भन्नुभयो ‘अहिले पनि जोखिम नभएको होइन । मुहान माथितिरबाट जतिबेला पनि ठूलो बाढी आउन सक्छ । जुनसुकै बेला पानी बन्द हुन सक्छ । तर पनि अधिकतम समय पानी वितरण गर्ने प्रयास गरिनेछ । सामान्य खालको बाढीपहिरो आएमा थेग्न सक्छ । ठूलै बर्षा भयो भने मात्र सुरुङ बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’ उहाँले भन्नुभयो ।
यसका लागि आयोजनाको गेट नं. १ डाईभर्सन टनेलको इन्टेकमा मर्मत र थप संरचना निर्माण गरिएको छ । गेट नं. ९ मा धमिलो बालुवा बगाउने कार्य भएको छ । गेट नं. २१ को अगाडि ड्याम बनाएर बालुवा, पानी नछिर्ने गरी आरसीसी बक्स जस्तो बनाइएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता एवं सिडिई राजेन्द्र प्रसाद पन्तका अनुसार विकास समितिले ठेक्का लगाएर काम गरिएको हो । यसका लागि कार्यकारी निर्देशक, निर्माण व्यवसायी परामर्शदाता, आयोजनाका प्राविधिक सबै आ आफ्नो ठाउँबाट खटिएका छन् । वैशाख र जेठ महिनाको प्रायः जसो समय कार्यकारी निर्देशक श्रेष्ठले फिल्डमै बिताएको प्रवक्ता पन्तले बताउनुभयो ।

अपरेशन र कन्सल्ट्याण्ट टिमद्वारा मनिटरिङ
२०७९ मंसिर १२ गते यता मेलम्चीको पानी काठमाडौं उपत्यकामा नियमित वितरण भईरहेको छ । गएको जेठ ५ गते देखि १० गतेसम्म मर्मतका लागि बन्द गरेपनि त्यस यता मेलम्चीको पानी नियमित वितरण भईरहेको छ । ‘यदि उक्त मर्मतको काम नभएको भए हप्ता दिन अघि नै बन्द गर्नुपर्ने अवस्था थियो’ प्रवक्ता पन्तले बताउनुभयो । अहिले अपरेशन टिम र परामर्शदाताको टिमले मनिटरिङ गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

आयोजनाका लागि सन् १९९८ मा समिति गठन भएको थियो । त्यतिखेर हेडवक्र्ससम्म जाने बाटो थिएन । बाटो बनाउन मात्र १० बर्ष लागेको थियो । सन् २००९ बाट आयोजनाको सुरुङ खन्ने र हेडवर्क्स निर्माणको काम सुरु भएको थियो । सन् २०२० मा सम्पन्न भएको मेलम्चीको हेड्वर्क्समा बाढीले क्षति पुर्याएपछि स्थायी संरचना निर्माण भएको छैन ।
आगामी आर्थिक बर्षमा सरकारले मेलम्ची खानेपानी आयोजनामा ५० करोड ८३ लाख लगानी गर्ने योजना बनाएको छ । तर आयोजनाका अनुसार उक्त रकम पुनर्स्थापनामै खर्च हुने अनुमान गरिएको छ ।
सरकारले आगामी आर्थिक बर्ष मेलम्ची आयोजनाको अस्थायी हेडवर्क्सको स्तरोन्नति गरी १२ महिना नै खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने र मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझाब बमोजिम आयोजनाको दिगो सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा याङ्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।


1356 पटक हेरिएको 

