
हुम्ला : गर्मीले असिनपसिन आमाछोरीका निधारबाट खलखली पसिना बगिरहेको थियो । कपडाले बाँधेर काखमा बोकेको बच्चालाई पनि उकुसमुकुस भइरहेको थियो । दिउँसो साढे १२ बजेको तालु पोल्ने घाममा यसरी हिँड्ने महिला १७ वर्षीया एलिना थापा थिइन् । अनि जर्किन बोकेर हिँड्ने बालिका उनकी छोरी एलिसा थिइन् । अदानचुली–१ का उनीहरू गल्वागाड नजिकको एउटा मुहानबाट पानी भरेर आफ्नो घर थापागाउँ जाँदै थिए । पानीको मुहानबाट उनको घरसम्म पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने रहेछ ।
‘पानीका साह्रै दुःख छन्, थोपा थोपाको हिसाब गरेर पिउनुपर्छ । बच्चाको माया लागेर के गर्नु ? पानी बोकेर मात्रै हुँदैन । घरमा अरू पनि काम हुन्छ,’ उनले ठट्यौली पारामा भनिन्, ‘नाबालक भनेर भयो त, यो पनि त पानी पिउँदिछ (पिउँछे) ।’ गाउँनजिक पानीको स्रोत नभएकाले रातबिरात भए पनि पानीका लागि तड्पिनुपर्ने अवस्था रहेको सुनाउँदै उनले यहाँ महिला र बालबालिकाले पानीकै लागि एक घण्टा टाढा दौडधुप गर्ने गरेको बताइन् ।
हुम्लाको दक्षिणवर्ती अदानचुली जलस्रोतमा धनी स्थानीय तहका रूपमा रहेको गाउँपालिकाको पार्श्वचित्रले देखाउँछ । तिब्बतबाट यारी नाका भएर कर्णाली यही गाउँपालिका हुँदै बग्छ । जिल्ला पार्श्वचित्रमा हुम्लाका १० प्रतिशत परिवारमात्रै व्यवस्थित खानेपानीको पहुँच बाहिर रहेको दाबी गरिएको छ । अदानचुलीको पार्श्वचित्रमा मात्रै १ सय ६० परिवार अर्थात् १२ प्रतिशत टाढाको मुहान र खोलाको पानी खाने गरेको उल्लेख छ, जुन तथ्यांक झूटो भएको जनप्रतिनिधि नै बताउँछन् ।
‘अहिले त मुहानको पानी छ । रुडा पडे (खडेरी भए) त्यो पनि सुकिजान्छ । हामीले कर्नालीको पानी खानुपर्छ,’ थापागाउँका एक अगुवा धनसिं थापाले भने, ‘पानीका दुःखका क्या कुरा गर्नु हजुर । यहाँका मान्ठ (मानिस) को आधा जुनी त पानी बोक्दै बितिजाँदो छ ।’ वडा १ को थापाबाडा, बुढाबाडा, छत्यालबाडा, चिउरेवाडालगायत गाउँमा खानेपानीको चरम अभाव रहेको बताउँदै उनले यहाँका दुई सयभन्दा बढी परिवारले पानीकै लागि रातदिन दुःख खेप्नुपरेको सुनाए ।
यस पालिकामा श्रीनगरसहित, कल्खृ, लमै, मकैलगायतका बस्ती सुक्खा क्षेत्रमा पर्छन् । पालिकाले यी क्षेत्रका ८८ प्रतिशत घरमा धाराको खानेपानी पुगेको दाबी गरे पनि व्यवहारमा भने स्थानीयले पानीकै लागि खेप्नुपरेको भनिसाध्य छैन । यो खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।
गाउँपालिकाभरि नै खानेपानीको समस्या रहेको र समाधानका लागि प्रयास भइरहेको पालिका उपाध्यक्ष कर्ण रोकायाले बताए । ‘समस्या त पालिकाभरि नै छ तर वडा १ (साविकको श्रीनगर गाविस) मा बढी समस्या हो ।
त्यहाँका मान्छेले पहिलादेखि नै कुलोको पानी खाइरहेका छन्,’ उनले भने, ‘हामीले प्रदेश सरकारलाई पनि समाधानका लागि भनेका छौं । पालिकाका तर्फबाट पनि बजेट छुट्याउने सल्लाह गर्दै छौं ।’ यहाँका कतिपय गाउँमा अहिलेसम्म खानेपानीका कुनै आयोजना नबनेको, परम्परागत मुहान सुकेको र पानीको मात्रा घटेका कारण सास्ती भइरहेको उनले बताए ।


818 पटक हेरिएको 

