गोर्खा वेलफेयर ट्रस्टद्वारा खानेपानी स्तरोन्नति आयोजना धरान उपमहानगरलाई हस्तान्तरण

  वास खबर सम्वाददाता  745 पटक हेरिएको
🔗
33
Shares

सुनसरी : गोर्खा वेलफेयर ट्रस्टले धरान खानेपानी स्तरोन्नति आयोजनाको संरचना निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । धरानको खानेपानीको मुख्य स्रोत मानिएको सर्दु–खर्दु जलाधार क्षेत्रमा खानेपानी स्तरोन्नतिको काम सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । ट्रस्ट र उपमहानगरपालिकाबीच गत पुस २६ गते सम्झौता भएको थियो । फागुन ६ गतेदेखि निर्माण कार्य सुरु भएको खानेपानी स्तरोन्नति आयोजना असार २३ गते सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

आयोजना हस्तान्तरण गर्न गोर्खा वेलफेयर ट्रस्ट बेलायतका कार्यकारी प्रमुख (सीईओ) अल हवार्ड, वेलफेयरको नेपालस्थित निर्देशक कर्णेल पल स्मिथ धरान आउनुभएको थियो । ट्रस्टका कार्यकारी प्रमुख हवार्डले सहरी क्षेत्रमा ट्रस्टले लगानी गर्ने नीति नभए पनि धरानमा खानेपानीको अभाव बीच धेरै भुपू गोर्खा सैनिक र तिनका परिवार बसोबार गर्ने भएकाले यो आयोजनामा लगानी गरिएको बताउनुभयो ।

उहाँले धरान उपमहानगर प्रमुख साम्पाङले खानेपानीका लागि गरेको कामको प्रशंसा समेत गर्नुभयो। खानेपानीको स्तरोन्नति आयोजना बेलैमा सम्पन्न गरेर हस्तान्तरण गरेकोमा धरान उपमहानगरको तर्फबाट ट्रस्ट प्रति मेयर साम्पाङले आभार व्यक्त गर्नुभयो ।

सम्झौता भएको १ सय ४१ दिनमा चारवटा ट्यांकी, मुहान सुधार र र्‍यापिड स्यान्ड फिल्टरको स्तरोन्नति गरेर ट्रस्टले धरान उपमहनगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङलाई त्यसको स्वामित्व, जिम्मेवारी र दायित्व हस्तान्तरण गरेको गोर्खा वेलफेयर ट्रस्टका निर्देशक दीपककुमार श्रेष्ठले बताउनुभयो ।

धरानमा पूर्वगोर्खाहरूको बाक्लो बस्ती रहेको र उनीहरूको अधिकांश परिवार एवं आफन्तजनहरू त्यहाँ बस्दै आएको तर खानेपानीको अभाव झेल्न बाध्य भएकाले ट्रस्टको उत्थानशील खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम अन्तर्गत सहयोग आयोजना सम्पन्न गरिएको हो ।

सर्दु–खर्दु जलाधार क्षेत्रमा तत्कालीन नेपाल खानेपानी संस्थानको धरान शाखा, हाल धरान खानेपानी व्यवस्थापन बोर्डले पनि खानेपानीको ट्यांकी बनाएर सतहको पानी वितरण गर्दै आएको छ ।

वर्षायाममा दैनिक अढाई करोड लिटरभन्दा बढी पानी उत्पादन भए पनि सुख्खायाममा भने दैनिक ४० लाख लिटर मात्र पानी उत्पादन हुने भएकाले उक्त क्षेत्रमा अरु मुहान पनि खोजी गरेर थप चारवटा ट्यांकी निर्माण गर्नुका साथै फिल्टरको पनि स्तरोन्नति गरिएको ट्रस्टले जनाएको छ ।

उहाँका अनुसार आयोजनाको अनुमानित लागत ३ करोड ३७ लाख ७९ हजार २ सय ११ रुपैयाँ भएकोमा वास्तविक खर्च ३ करोड १२ लाख ४७ हजार २ सय ४६ रुपैयाँ मात्र भएको थियो ।

उहाँले भन्नुभयो ‘धरान खानेपानी स्तरोन्नती आयोजनाअन्तर्गत ४ वटा ट्यांकी निर्माण भएका छन् । ४ वटा कलेक्सन च्याम्बर पनि निर्माण गरिएको छ । त्यस्तै फ्लकुलेटर ट्यांकीको क्षमता ६० लाख लिटरबाट अपग्रेड गरेर ९० लाख लिटरको बनाइएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको र्‍यापिड स्यान्ड फिल्टरको स्तरोन्नति गरेर १ करोड ६० लाख लिटरबाट २ करोड पुर्‍याइएको छ ।’ उहाँका अनुसार स्तरोन्नति आयोजना अन्तर्गत २ वटा क्रसिङ, एउटा वास आउट भल्ब, २ वटा एयर भल्ब र पाइपलाइन २ हजार ३ सय ४९ मिटरसम्म विस्तार गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार