काठमाडौ : नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङको धुनीबेसीका १ नम्बर वडावासीले फोहोर विसर्जनमा पुनः रोक लगाएका छन्। काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनरलाई सीमानाबाटै अगाडि बढ्न दिएका छैनन् । स्थानीयबासीको आन्दोलनमा जनप्रतिनिधिहरू समेत ऐक्यबद्धता रहेको ककनी गाउँपालिका(३ का वडाध्यक्ष घननाथ बजगाईंले बताउनुभयो ।
‘फोहोर र मानव सँगै नराख भनेर हामीले बारम्बार ताकेता गर्यौं तर सहरी विकास मन्त्रालयको कानमा बतास लागेन, प्रधानमन्त्रीले दिएको निर्देशन समेत कार्यान्वयनमा नआएपछि आन्दोलन बाध्यता बन्यो।’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार एक महिना जति अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरूङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्ष समेतको बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी दस दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारूकता नदेखाएको बताउनुभयो ।
ककनी गाउँपालिकाको १२ औं गाउँ सभाले निर्णय गरेर साउन १ गतेदेखि ठूला प्रति गाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रूपैयाँ लिने तयारी भईरहेकै बेला फोहोरमैला व्यवस्थापन संघले आइतबार मुद्दा दर्ता गर्यो। मुद्दाको पेसी आज नै (सोमबार) तोकिएको छ। त्यसकारण पनि आन्दोलन निर्विकल्प भएको बजगाईंले बताउनुभयो ।