विपन्नलाई खानेपानीमा समान पहुँच स्थापित गर्न अनप्लट धारा

  वास खबर सम्वाददाता  632 पटक हेरिएको

काठमाडौ : समाजमा समान सुविधा पाउनबाट वञ्चित घरधुरीलाई समेत खानेपानीमा समान पहुँच स्थापित गर्न नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले अनप्लट धारा जडान गर्दै आएको छ । यस्तो धारामा मिटर जडान गरिएको हुँदैन भने धारा समेत नेवाकै खर्चमा बनाईने नेवाका निर्देशक ई.रेशम जंग सिंहले बताउनुभयो ।

सामाजिक संरचना एउटै किसिमको नहुने र आर्थिक रुपमा विपन्न मानिसहरुलाई पनि खानेपानी र सरसफाइको समान पहुँच पुर्‍याउन यस्तो तरिका अपनाउँदै आएको उहाँले बताउनुभयो । ‘एकल महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, सिमान्तकृत आदिका लागि अनप्लट जडानयुक्त धारा प्रदान गरिन्छ’ उहाँले भन्नुभयो ।

नेवाले खानेपानी आयोजना सञ्चालन गर्दा आवश्यकताको आधारमा सार्वजनिक, निजी र अनप्लट गरी तीन प्रकारको धारा जडान गर्दै आएको छ । निर्देशक सिंहका अनुसार प्रत्येक सार्वजनिक धाराले वरपरका घरहरुलाई पानीको पहुँच प्रदान गर्दछ । एकीकृत वस्तीहरुमा सार्वजनिक धारा जडान गरिन्छ । धारामा आउने पानीको परिमाण घरधुरी संख्याको आधारमा निर्धारण गरिएको हुन्छ ।

यस्तै हरेक घरले आफ्नो घर आँगनमा पानीको धारा निर्माण गर्छन । यसमा मिटर जडान गरिएको हुन्छ । त्यस्ता घरपरिवारले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तोके बमोजिमको पानीको महसुल बुझाउनुपर्छ ।

नेवाले समुदायको सक्रिय सहभागिता तथा जनश्रमदान मार्फत खानेपानी प्रणालीहरु निर्माण गर्दै आएको छ । आयोजनाको कुल लागतको १५ देखि २० प्रतिशत समुदायले श्रमदान गर्दै आएको छ ।

उपभोक्ताले प्रारम्भिक मर्मत सम्भार कोषमा पनि योगदान पुर्‍याउँछन् । जुन आयोजनाको काम समाप्त भएपछि खानेपानी प्रणालीको मर्मत सम्भारको लागि प्रयोग गरिन्छ ।

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले स्थापनाकाल देखि हालसम्म २२ लाख ६ हजार ८ सय ४४ जनसंख्यालाई खानेपानी, सरसफाइ र स्वच्छताको पहुँच पुर्‍याएको छ । कुल २ हजार ६ सय ७१ वटा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरी ३ लाख ४६ हजार ५ सय ३ घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा पुर्‍याएको नेवाले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार