
नुवाकोट : साउन अन्तिममा आएको बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दुई महिना पछि खानेपानी वितरण गर्न सुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संस्थाका पदाधिकारी, प्राविधिक कर्मचारी तथा सहयोगीको अनवरत प्रयासको फलस्वरूप हिजो आईतबार विदुर र बट्टारको टयाङ्कीमा खानेपानी ल्याउन सफल संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताउनुभयो ।
गत साउन २७ र २८ गतेको बाढी र भदौ २३ गतेको सुख्खा पहिरोको कारण फलाखु खोला मुहानको खानेपानी वितरण सेवा अनिश्चित समयको लागि अवरूद्व भएको थियो ।
खानेपानी आयोजना खानेपानीको आपूर्ति बन्द हुँदा विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का चार हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए ।
फलाखु खोला मुहानको खानेपानी अवरुद्ध हुँदा संस्थाले वैकल्पिक रूपमा सिँचाई र ढुंगेबाट डिप बोरिङ मार्फत उपभोक्तालाई तालिका अनुसार खानेपानी वितरण गरेको थियो ।


520 पटक हेरिएको 

