दुधकोसीको पानी हलेसीको बाहुनीडाँडा, च्यास्मिटार क्षेत्रमा उक्लियो

म्याद सकिएको तीन बर्ष हुँदा पनि सकिएन काम

  वास खबर सम्वाददाता  453 पटक हेरिएको

खोटाङ : दूधकोसी नदीको पानी लिफ्टिङ गरी हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, च्यास्मिटार र बडहरेमा पुर्‍याउन सफल भएको छ । लिफ्टिङको काम सफल भएसँगै पुस्तौंदेखि पानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले सहज तरिकाले खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

दूधकोसीबाट लिफ्टिङ गरी बाहुनीडाँडाको झाप्पा, बडहरेको बुङ्देल र च्यास्मिटारको हण्डखामा निर्माण गरिएको ट्यांकीमा पानी ल्याइएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ९६ करोड ४५ लाख लागतमा निर्माणको अन्तिम चरणमा रहेको लिफ्टिङ खानेपानीको विभिन्न खण्डको ठेक्का फरक फरक निर्माण कम्पनीले लिएको थियो ।

म्याद सकिएको तीन बर्ष हुँदा पनि सकिएन काम, फरक फरक कम्पनीको फरक प्रगति

दिवा महादेव खिम्ती निर्माण कम्पनीले बाहुनीडाँडाको कदुवा लिलिमाबेसीबाट भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका – ८ सल्लेको महादेवबेंसीबाट वडा ७ को हलेसी काभ्रेडाँडामा पानी तान्ने ठेक्का लिएको थियो ।

०७४ असार २१ मा ३१ करोड ७५ लाख ९६ हजार ५६ रुपैयाँको लागतमा २०७६ मंसिरमा काम सक्ने गरी ठेक्का लिएको भएपनि हालसम्म पूर्ण रुपमा सम्पन्न भएको छैन । यस मध्ये बाहुनीडाँडाको कदुवा लिलिमाबेंसीबाट भुम्जुडाँडा सम्मको मेनलाइन र शाखा लाइनको काम सकिएको छ भने शाखा लाइनबाट उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारका केही काम बाँकी रहेको आयोजनाका इन्जिनियर राम दाहालले बताउनुभयो ।

सल्लेको महादेवबेंसीबाट हलेसी तुवाचुङ – ७ हलेसी काभ्रेडाँडा सम्मको मेन लाइनको काम भने करिब १० प्रतिशत बाँकी छ । मुख्य लाइन बाहेक पानी वितरण प्रणाली निर्माणको काम भने अर्कै निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

लिलिमाबेसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का २ हजार ४ सय ९ घरधुरीलाई वितरणको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । ३७ करोड ९३ लाख रुपैयाँको लागतमा ०७७ साउन १ मा पुरा हुने गरी ०७५ साउन १ गते सम्झौता गरेको यो खण्डको काम पनि अझै सम्पन्न भएको छैन ।

यो ठेक्का अन्तर्गत चार लाख लिटर क्षमताका तीन ट्यांकी, तीन लाख लिटरको एउटा, एक लाख लिटरको पाँच ट्यांकी र चार किलोमिटर पाइप लाइनसँगै महादेवबेंसीबाट तुवाचुङको काभ्रेडाँडासम्म चार लाख लिटर क्षमताको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटर क्षमताको ५ वटा ट्यांकी तथा आठ किलोमिटर मेन लाइनको पाइप विस्तार गर्ने योजनामा पर्छ ।

त्यस्तै महादेवबेंसीबाट काभ्रेडाँडामा निकालिएको पानी हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ५, ६ र ७ नम्बर वडाका २ हजार ४ सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण सगरमाथा घिमिरे जेभीले लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैयाँको लागतमा २०७७ साउन १ मा सक्ने गरी ०७५ साउन १ मा सम्झौता गरेको भएपनि निर्माण सम्पन्न गर्न अझै निक्कै काम बाँकी छ।

दुवै लाइनको ठेकेदारको काम करिब करिब सकिएको भए पनि उपभोक्ताले गर्ने काम भने बाँकी रहेको इन्जिनियर दाहालले बताउनुभयो । उपभोक्ताले गर्ने काम पनि धमाधम भइरहेको हलेसी तुवाचुङ नगर प्रमुख विमला राईले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार