कुस्माकाे फोहोर व्यवस्थापन: एनजिओलाई मालामाल नगरलाई करोडौँ नोक्सानी

  वास खबर सम्वाददाता  432 पटक हेरिएको

पर्वत : पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ ।जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ ।

नगर भित्रको फोहोर व्यवस्थापन गर्ने भन्दै आफन्त र केही प्रलोभनमा परी दुई पक्षबिच सम्झौता गरी जिम्मेवारी दिएको छ । तर सम्झौतामा गरिएको सहमतिहरू समेत अहिले पुरा गर्न सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड) नामक गैह्रसरकारी संस्थाले सकेका छैनन् । नगरपालिकाले ताकेता र कडाइ नगर्नुले कार्यालयले करोडौँ नोक्सान खेप्नु परेको स्थानीयवासीको भनाई छ ।

संस्थासँग फोहोर व्यवस्थापनको सम्झौता आर्थिक वर्ष २०७५/०७६ मा पाँच वर्षलाई गरिएको हो । सम्झौता अनुसार उक्त संस्थाले नगरपालिकालाई पाँच वर्षमा हुने आम्दानी भनी एक करोड ९१ लाख ५० हजार उल्लेख गरेको छ भने नगरपालिकाले ल्याण्डफिल र ट्रिपर उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता अनुसार संस्थाले करोडौँ आम्दानी हुने उल्लेख गरेको भए पनि आ.व.२०७८/७९ सम्म जम्मा ६५ लाख ४१ हजार मात्रै आम्दानी देखाइएको छ । प्रत्येक वर्ष आम्दानी भन्दा खर्च बढी देखाएर नगरपालिकाको लाखौँ व्यय भार बढाउने संस्थाले गत एक वर्षदेखि नै आम्दानी खर्चको हिसाब नै देखाउन सकेको छैन ।

नगरपालिकाले सम्झौतामा अनुसार फोहोर व्यवस्थापक संस्थालाई फोहोर सङ्कलनमा उपयोग हुने ट्रिपर दुई वटा, सवारी चालकलाई तलब, सवारी इन्धन, सवारी पार्किङ भाडा, ल्याण्डफिल साइट लगायत उपलब्ध गराउने सहमति छ । सेवाग्राहीसँग शुल्क सङ्कलन गर्ने र कर्मचारी परिचालनको काम फोहोर व्यवस्थापन संस्थाको छ ।

कुस्मा नगरपालिकाको राजस्व शाखाको कर्मचारी विन्दु शर्मा पौडेलका अनुसार संस्थाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको संस्थाले नगर बासीसँग फोहोर सङ्कलन गरे बापत गत आर्थिक वर्ष २०७९/८० मा उपभोक्ताबाट सङ्कलन गरिएको रकम समेत संस्थाले खुलाएको छैन ।

कर्मचारी पौडेलका अनुसार नगरपालिकासँग फोहोर सङ्कलन गर्ने सेवाग्राहीको सङ्ख्या र नामावली समेत यकिन छैन । नगरपालिकालाई फोहोर शुल्क बापतको कति रकम सङ्कलन हुन्छ भन्ने कुरा नै थाहा छैन ।

कुस्मा नगरपालिकाको आर्थिक विधेयक २०८० अनुसार फोहोर मैला व्यवस्थापन शुल्क भनेर घरमा बस्ने प्रति परिवार एक सय रुपियाँ, तरकारी पसललाई ३१५, मासु पसल .५१५ देखि होटेल, औषधी पसल रु. एक हजार १५ रुपियाँ गरी हजारौँ उपभोक्ताबाट रकम असुल गर्दै आएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमा समेत एक वर्षमा १३ लाख ९४ हजार रुपैयाँ फोहोर मैला व्यवस्थापन शीर्षकमा बेरुजु फर्छ्यौट नभएको भनी उल्लेख गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलले फोहोर व्यवस्थापनको सम्झौता गरेको संस्थालाई उपभोक्ताबाट सङ्कलित रकम राजस्व दाखिला गर्न एक वर्षदेखि पटक पटक पत्राचार गरेको भए पनि सुनुवाइ नगरेको बताउनुहुन्छ ।

कुस्मा नगरपालिका वडा ९ का अध्यक्ष राम शर्माले नगरको फोहोर व्यवस्थापनमा पालिकाको बेवास्ताकै कारण व्ययभार बढेको बताउँदै भन्नुभयो–“नगरपालिकामा हरेक कार्य अस्तव्यस्त छन् । फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले तलब पाउन नसकेको धेरै समय भएको भनी गुनासो आएको छ तर नगर प्रमुख रामचन्द्र जोशीलाई कुनै चासो छैन ।”

आर्थिक वर्ष २०७५/०७६ बाहेक संस्थाले सम्झौता अनुसार पालिकालाई बाँकी वर्षको मुनाफा दिनुपर्ने ३२ लाख ५० हजार हुन्छ तर अहिलेसम्म संस्थाले प्रत्येक वर्ष नोक्सानी देखाउदै आउँदा पालिकालाई लाखौँको नोक्सानी हुने भएको छ ।

नगरपालिका वडा ८ का अध्यक्ष सुरेन्द्र केसीका अनुसार नगरपालिकासँग फोहोर व्यवस्थापनको सम्झौता गर्ने संस्थाले १४ वडामध्ये सदरमुकाम आसपास पर्ने ४ वटा वडाको मात्रै फोहोर उठाउँदै आएको बताउनुहुन्छ । आफ्नो वडाको फोहोर कहिले पनि व्यवस्थापन नगरेको अध्यक्ष केसीको आरोप छ । यो खबर गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार