हातेपम्पको खानेपानीमा आर्सेनिकको मात्रा बढी

  वास खबर सम्वाददाता  660 पटक हेरिएको

नेपालगन्ज : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला नेपालगन्जले केही समय अघि गरेको खानेपानी परीक्षणमा हाते पम्पको पानीमाआर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गाेपाल रेग्मीले जानकारी दिनुभयो ।

खासगरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार आर्सेनिकको मात्रा प्रति लिटर पानीमा ०.०५ मिलिग्राम अधिकतम सीमा रहे पनि सो भन्दा बढी भेटिएको उहाँले बताउनुभयो । आर्सेनिक मन्द बिष हो । आर्सेनिकयुक्त पानी लामो समयसम्म सेवन गर्दा क्यान्सर समेत हुने अध्ययनले देखाएको छ ।

पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ ।

पानी प्रयोगशाला, नेपालगन्जका सहायक केमिस्ट रेग्मीका अनुसार खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप समेत जाम हुनसक्छ ।

उहाँले बाँकेको कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी हुने समस्या देखिएको जानकारी दिनुभयो । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमुनामा त्यस्तो देखिएको रेग्मीले बताउनुभयो । शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिन सक्ने प्रयोगशालाले जनाएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीको नमूना हेरेर लुम्बिनी प्रदेश बाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीको उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानी समेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ ।

उहाँले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनिया  पारामितीहरुको परीक्षण हुने गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार