पढाई सँगै खानेपानी मर्मत सम्भार कार्यकर्ता

  वास खबर सम्वाददाता  595 पटक हेरिएको


दैलेख : दैलेखको दुल्लु नगरपालिका ८ का नवराज आचार्य कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँ अध्ययन सँगै दुल्लु नगरपालिकाकै वडा नं. ८ मा रहेको छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा खानेपानी मर्मत सम्भार कार्यकर्ताको रुपमा काम गर्नुहुन्छ ।

मर्मत सम्भार कार्यकर्ता भएर बिहान भल्ब खोल्ने र बेलुकी बन्द गर्ने काम गर्नुपर्छ । उहाँका अनुसार खानेपानी संरचनाहरु पूरै हेर्नुपर्छ । ट्याङ्कीहरु, सोलार देखि लिएर खोल्ने बन्द गर्ने र बिग्रे भत्केका संरचनाहरु बनाउने, पाइपहरु फुट्यो भने टाल्ने पनि गर्नुपर्छ ।

सोलार लिफ्टिङ खानेपानी योजना भएकाले सोलारको लाइन आएको छ छैन चेक गर्ने, तारहरु कहिलेकाही खिया लागेर नचलेमा हेर्ने र सामान्य भैपरी आउने समस्या समाधानको जिम्मा पनि उहाँकै काँधमा छ ।

‘मल्टिमिटरद्धारा चेक गर्छु । त्यसका लागि संस्थाले सामानहरु दिनुभएको छ’ आचार्यले भन्नुभयो । यसका लागि आफूले मर्मत सम्भार कार्यकर्ता र सोलार अपरेटर सम्बन्धी तालिम लिएको उहाँले बताउनुभयो ।


खानेपानी मर्मत सम्भार कार्यकर्ता भएर उहाँले दिनैभरि खटिरहनु पर्दैन । ‘दिनहुँ खानेपानी खोल्ने र बन्द गर्ने काम गर्नुपर्छ । कहिलेकाहीं खानेपानीको पाइप फुट्यो भने त्यत्तिबेला जोड्ने काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

यसबापत उहाँले मासिक ४ हजार रुपैयाँ पारिश्रमिक पाउनुहुन्छ । यसबाट आफूलाई चाहिने किताब, कलम, कापी खरिद गर्नुहुन्छ । नवराज भन्नुहुन्छ ‘यो रकम भन्दा पनि सीप ठूलो हो । मैले सोलार अपरेटर तालिम सिकेको छु । प्लम्बिङको काम सिकेको छु, आफैले रकम तिरेर सिक्ने हो भने मैले यो कोर्स गर्नै सक्दिन ।’ आफूले सिकेको सीपको प्रयोग गरी भविश्यमा आत्मनिर्भर हुन सकिने उहाँले बताउनुभयो ।

मर्मत सम्भार कार्यकर्ताको व्यवस्था भएपछि खानेपानी योजनाका संरचनाहरुको समेत संरक्षण भएको छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मधुप्रसाद आचार्यले बताउनुभयो । खानेपानीको दिगोपनाको लागि एक जना तालिम प्राप्त मर्मत सम्भार कार्यकर्ता अनिवार्य चाहिने अध्यक्ष आचार्यले बताउनुभयो ।

छहरेखोला सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजनाबाट दुल्लु नगरपालिका ८ बडागाउँका ४६ घरपरिवारले खानेपानी उपभोग गर्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार