भ्याली बोर्ड, केयूकेएल र पिआईडीको पुनःसंरचना गरिने

मेलम्ची खानेपानीको दिगो व्यवस्थापन गर्न सुझाव

  वास खबर सम्वाददाता  517 पटक हेरिएको

काठमाडौ : काठमाडौ उपत्यकाको खानेपानी आपूर्तिसँग सम्बन्धित संस्थाहरु काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन (भ्याली बोर्ड), काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को पुनःसंरचना गरिने भएको छ । खानेपानीमन्त्री महिन्द्रराय यादवले यस बिषयमा छलफल तथा अन्तरक्रियाको सुरुवात गर्नुभएको छ ।

मन्त्री यादवले बुधबार मात्रै काठमाडौ उपत्यकाका तीनै वटा जिल्लाका प्रतिनिधि सभा सदस्य, काठमाडौँ उपत्यका भित्रका सबै स्थानीय तहका प्रमुख, हेलम्बु गाउँपालिकाका अध्यक्ष, उपभोक्ता समितिका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा यसबारेमा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियामा काठमाडौ उपत्यकाको खानेपानी वितरणमा तीनै वटा संस्थाको भूमिका प्रभावकारी हुन नसकेको र एउटै संस्थामा समाहित गरेर लैजानुपर्नेमा जोड दिएका छन् ।

काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, केयूकेएल र आयोजना कार्यान्वयन निर्देशनालय लाग्दा समेत काठमाडौमा खानेपानीको हाहाकार भएको भन्दै मेलम्चीको मर्मत सम्भार गरी तत्काल पानी पथान्तरण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौ उपत्यकामा तत्काल खानेपानी आपूर्ति गर्नुपर्ने कुरामा आफू चिन्तित रहेको र मेलम्चीबाट पानी ल्याउने प्रयास भइरहेको जानकारी गराउनुभयो । उहाँले केही दिन अघि मात्र मेलम्चीको अनुगमन गरेको र तत्काल मर्मतको काम सम्पन्न गरी खानेपानी पथान्तरण गर्न निर्देशन दिएको जानकारी गराउनुभयो ।

सुख्खायाम सुरु भइसकेको कारणले काठमाडौँ उपत्यकामा खानेपानीको अभाव सुरु भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडले हप्ता दश दिनको फरकमा दुई घण्टा दिदै आएको खानेपानी समेत नियमित दिन सकेको छैन ।

अन्तरक्रियाका सहभागीले स्थानीय तहहरूमा अवस्थित पानीका श्रोतहरूको पहिचान, प्रयोग, संरक्षण तथा पुनर्भरण गर्नुपर्ने सुझाव समेत दिएका छन् । सहभागीले काठमाडौँ उपत्यका भित्रका खानेपानी तथा सरसफाइ क्षेत्रको सम्पत्तिको दिगो व्यवस्थापन र सञ्चालन तथा प्रभावकारी नियमनको व्यवस्था गर्न समेत सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वित्तीय र प्राविधिक क्षमतामा सुधार गर्नुपर्ने, खानेपानी सेवा वितरणमा गुणस्तर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयलाई गाभेर एउटा सशक्त संस्था बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

काठमाडौ उपत्यका भित्र खानेपानी व्यवस्थापनमा संलग्न निकायहरुको पुनर्संरचना सम्बन्धमा अझ व्यापक छलफल गरी निर्णय गर्नुपर्ने धारणा उपस्थित सांसद तथा नगर प्रमुखहरुबाट आएको हुँदा आगामी दिनमा प्राप्त पृष्ठपोषण तथा सुझाव अनुसार खानेपानी मन्त्रालयले योजना तयार गरी आफना कार्यक्रमहरु कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै अर्बौ खर्च गरेर निर्माण गरेको मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनको लागि खानेपानी मन्त्रालयको ध्यानाकर्षण गराईएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार