लिफ्टिङ खानेपानी बन्द भएपछि कालापानीमा पुरानै दुःख बल्झियो

  वास खबर सम्बादाता  567 पटक हेरिएको

खोटाङ : खोटाङको रसुवाघाट–कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना बन्द भएपछि कालापानीका बासिन्दाको पुरानै दुःख बल्झिएको छ । खोटेहाङ गाउँपालिका– लिच्कीराम्चेस्थित लिफ्टिङ खानेपानी आयोजना बन्द भएको बर्ष दिन पूरा भैसक्दा पनि सञ्चालनमा ल्याउन नसकेको हो।

एउटा लिफ्टको मोटर चलाउने प्यानल बोर्ड बिग्रेका कारण खानेपानी सेवा बन्द भएको रसुवाघाट कालापानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर राउतले बताउनुभयो । सुनकोसी नदीको रसुवाघाटबाट करिब १८ सय मिटर माथि रहेको कालापानीमा लिफ्टिङ प्रविधि अपनाएर २०७६ फागुनै खानेपानी वितरण गरिएको थियो ।

साविकको लिच्कीराम्चे–७ का ११० घरलाई लक्षित गर्दै सञ्चालन गरिएको आयोजना औपचारिक रुपमा भने २०७७ पुस ११ गते मात्र हालका प्रदेश सांसद भूपेन्द्र राईले उदघाटन गर्नु भएको थियो ।

त्यस यता कहिले बेलामा विद्युत महशुल बुझाउन नसक्दा त कहिले उपकरण बिग्रने समस्याका कारण खानेपानी अवरुद्ध भैरहेको स्थानीय बताउँछन् । संघीय सरकार, खानेपानी मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी १ करोड ८० लाखमा सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना बन्द भएको एक बर्ष वितिसक्दा समेत यसलाई सन्चालन गर्ने बिषयमा कसैको ध्यान गएको देखिँदैन ।

खानेपानी बन्द भएपछि कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पँधेरा र खारखोला पँधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य छन् । गत वर्ष प्रदेश खानेपानी आयोजनाबाट विनियोजन भएको सात लाख खर्च गरेर सञ्चालनमा ल्याए पनि बनाएको १५ दिनमै बिग्रिएको र यस वर्ष पनि प्रदेशको तर्फबाट पाँच लाख बजेट विनियोजन भएको अध्यक्ष राउतले बतानउभुायो ।बाहिरबाट प्राविधिक बोलाएर खानेपानी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ उहाँले भन्नुभयो ।

लिफ्टिङ गरिएको पानीको महसुल महँगो पर्ने उपभोक्ता बताउँछन् । खानेपानी महशुलको केही प्रतिशत स्थानीय सरकारले बेहोर्नुपर्ने स्थानीयबासीको माग छ । आयोजना नै स्थानीय उपभोक्तालाई जिम्मा लगाइसकेपछि स्थानीयबासीले नै बेहोनुपर्ने स्थानीय सरकारको तर्क छ । अहिले पनि विद्युत प्राधिकरणको विद्युत महसुल बक्यौता रहेको खानेपानी उपभोक्ता समिति जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार