आँधीखोलाको पानी लिफ्टिङ गरी १ सय ४२ घरमा वितरण

  वास खबर सम्वाददाता  500 पटक हेरिएको

स्याङजा : स्याङजाको वालिङ नगरपालिका १३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरी खानेपानी वितरण गरिएको छ । बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजना अन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सब इञ्जिनियर वसन्तकुमार सुवेदीले बताउनुभयो।

आव २०७६/७७ देखि सुरु भएको उक्त योजना हालैमात्र सम्पन्न भई सञ्चालनमा आएको हो। दुई करोड १५ लाख ५६ हजार रुपैयाँ लागत अनुमान रहेको उक्त योजना गण्डकी प्रदेश सरकार र स्थानीयको श्रमदान गरी एक करोड ३७ लाख २५ हजार रुपैयाँमा सम्पन्न भएको हो ।

वालिङ १३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युतीय पम्पबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुब गौडेलले बताउनुभयो। ‘लामो दूरीबाट ल्याइएको पानीमा पटक पटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ, ‘आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण गर्‍यौँ त्यहाँबाट गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको सङ्कलन ट्याङ्की निर्माण गरी त्यसैबाट गाउँका घर घरमा वितरण गरेका छौँ’ उहाँले भन्नुभयो।

झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइप मार्फत पानी पुर्‍याइएको छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरी चौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिक स्थलमा समेत धारा जडान गरिएको छ ।

प्रत्येक घरमा २४ सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहज रुपमा आएसँगै खोल्सा खोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन । दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मत सम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताउनुभयो।

खानेपानी आयोजनाले पानी तान्नका लागि मासिक रूपमा चार हजार पाँच सयदेखि छ हजार पाँच सय रुपैयाँसम्म विद्युत महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युतमा अनुदान दिने नीति ल्याएकाले विद्युत महसुलको अनुदान प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको सचिव गौडेलले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार